काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार १५ औँ महाधिवेशन समयमै सम्पन्न गरिने बताएका छन् ।
शुक्रबार काठमाडौँको शोभा भगवतीस्थित गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले पार्टीभित्र पछिल्लो समय चर्चामा रहेको विशेष महाधिवेशनको मागप्रति लक्षित गर्दै उनले यो कांग्रेसको चाहना नभएको जिकिर गरे। उनले भने, ‘कसैको व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्न विधि र नियम मिच्नु उचित हुँदैन।’
१५ औँ महाधिवेशनको तयारीमा पार्टी लागिसकेको स्पष्ट पारे । उनले भने, ‘जस्तोसुकै परिस्थितिमा पनि १४ औँ महाधिवेशनबाट १५ औँ महाधिवेशन विधिसम्मत रूपमा सम्पन्न गर्न हामी अडिग छौँ।’
राजनीतिक दलका लागि मुद्दा र एजेन्डा नै मुख्य हुने बताउँदै नेता सिंहले न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘राजनीतिक मुद्दा र एजेन्डा पार्टीले तय गर्ने हो, न्यायिक विषय अदालतले हेर्ने हो। नेपाली कांग्रेस लोकतन्त्र र न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्छ।’
वीपी कोइराला र गणेशमान सिंहले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई स्मरण गर्दै उनले कांग्रेस सधैँ आफ्नो लोकतान्त्रिक मान्यतामा दृढ रहेको बताए। २०३६ सालको जनमतसंग्रह होस् वा २०४६ सालको परिवर्तन, कांग्रेस सधैँ विधिको शासनको पक्षमा उभिएको उनले जिकिर गरे।
‘पार्टीको विधान र नेपालको संविधानको भावना तथा मर्मअनुसार महाधिवेशन सम्पन्न गर्दै विधिको शासन, जनताको अधिकार र राष्ट्रको हितको रक्षा गर्नु हाम्रो मुख्य दायित्व हो,’ उनले भने।







































