वि.सं.२०८३ असोज १ बिहीवार

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज भारत जाँदै: समकक्षी सीतारमण र विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्ने

तीनदिने भ्रमणका लागि नयाँ दिल्ली जाँदै अर्थमन्त्री वाग्ले: कूटनीतिक छलफलदेखि भारतीय उद्योगीहरूसम्मका यस्ता छन् एजेन्डा

khanepani

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज बिहीबार तीनदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्। भारत सरकारको निमन्त्रणामा ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी नयाँ दिल्ली जान लागेका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको थियो। भ्रमण दलमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू सहभागी छन्।

भ्रमणको पहिलो दिन आजै अर्थमन्त्री डा. वाग्लेले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी अर्थमन्त्री निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै शुक्रबार उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेट गर्नेछन्। सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने कार्यक्रममा पनि उनको उपस्थिति रहनेछ।

भ्रमणको अन्तिम दिन शनिबार बिहान भारतीय उद्योग परिसंघ (CII) ले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा अर्थमन्त्री वाग्लेले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन्। यसैगरी शनिबार दिउँसो प्रतिष्ठित ‘दिल्ली स्कुल अफ इकोनोमिक्स’ ले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ।

नयाँ दिल्लीमा तय गरिएका औपचारिक भेटवार्ता र कार्यक्रमहरू सम्पन्न गरी अर्थमन्त्री डा. वाग्ले शनिबार साँझ नै स्वदेश फिर्ता हुनेछन्।

ranechhap