काठमाडौँ । संघीय संसदअन्तर्गतका तीनवटा संसदीय समितिको बैठक आज बिहीबार बस्दैछ। आज प्रतिनिधि सभाअन्तर्गतका दुई र राष्ट्रिय सभाअन्तर्गतको एक समितिको बैठक बस्न लागेको हो।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८:३० बजेदेखि सुरु हुनेछ। उक्त बैठकमा जलवायु परिवर्तनका विविध आयामबारे विषयविज्ञहरूसँग छलफल गर्ने तथा संयुक्त राष्ट्र सङ्घीय महासभामा परराष्ट्रमन्त्रीको सहभागिता सम्बन्धमा विस्तृत समीक्षा गर्ने कार्यसूची तय गरिएको छ।
यसैगरी, बिहान ११:०० बजे प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक डाकिएको छ। सो बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक अध्ययन उपसमिति’ ले तयार पारेको प्रतिवेदनउपर दफावार छलफल गरिने समिति सचिवालयले जनाएको छ।
उता राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:१५ बजे बस्दैछ। उक्त बैठकमा विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पुर्याएको गम्भीर क्षति, निकट भविष्यमा आयोजना हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलन र यससँग जोडिएका कूटनीतिक प्रवर्द्धनका विषयमा सरोकारवाला संघसंस्था तथा विज्ञहरूसँग छलफल गरिनेछ।







































