काठमाडौँ। सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई मध्यराति पेस्तोल भिराएर रेडकर्नर नोटिस जारी गराउन लगाइएको भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग जवाफ माग गरेको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद चन्द्रमोहन यादवले यस घटनाबारे सरकारको स्पष्टीकरण माग गरेका हुन्।
यस अघि सांसद अमरेशकुमार सिंहले सरकारले राति १ बजे पेस्तोल भिराएर रेडकर्नर नोटिस जारी गर्न लगाउने जस्ता कार्य गरेको भन्दै सरकारको आलोचना गरेका थिए। गत बिहीबारको बैठकमा सांसद सिंहले सम्पत्ति शुद्धीकरणको डीजीलाई बोलाएर कसैको कन्चटमा राति १ बजे पेस्तोल भिराइ दुई घण्टाभित्र रेडकर्नर नोटिस जारी गर्न धम्क्याइएको दाबी गरेका थिए।
सांसद यादवले सरकार र सत्तारुढ दलका सांसदहरूको अभिव्यक्ति लोकतान्त्रिक मूल्यमान्यता विपरीत रहेको भन्दै आलोचना गरे। सांसदहरूले प्रश्न गर्दा मन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गरेको विषयमा समेत उनले आपत्ति जनाएका छन्।
सांसद यादवले भने, ‘सत्तारुढ दलका माननीयज्यूहरूले सार्वजनिक रूपमा दिएको वक्तव्यबारे ध्यानाकर्षण गराउन चाहन्छु। कतै कन्चटमै पेस्तोल राखेर थर्काएको कुरा आएको छ त कतै प्रश्न गर्दा धम्की आएको कुरा सुन्नमा आएको छ।’ यो अत्यन्तै अलोकतान्त्रिक कुरा भएको भन्दै उनले यसमा सरकारको जवाफ माग गरे।
लोकतन्त्रको मुख्य मूल्य नै भयरहित समाजको निर्माण भएकाले यो विषय अत्यन्तै गम्भीर रहेको र यस सम्बन्धमा सरकारले स्पष्ट पार्नुपर्ने सांसद यादवले बताएका छन्।






































