वि.सं.२०८३ भदौ ३० मंगलवार

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गर्छौँँ : प्रधानमन्त्री शाह

khanepani

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताएका छन् ।

प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’का क्रममा पठाएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख छ ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरिरहेको समस्या, क्षति र समाधानलगायतका विषयमा विश्वसमुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

यसैगरी, जलवायु परिवर्तनले नेपालको हिमाली, पहाडी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने पनि प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

विश्वव्यापी रूपमा तापक्रम वृद्धि हुँदा हिमालहरू पग्लिने, हिमचट्टान टुक्रिने, हिमालहरू फुट्ने, हिमनदीहरूको बहाव बढ्ने, पानीका मुहानहरू सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउनेलगायतका समस्या हिमाली क्षेत्रसहित समग्र नेपालीले भोग्नुपरेको प्रधानमन्त्री शाहको सन्देशमा उल्लेख छ ।

जलवायु परिवर्तनका कारण स्थानीयको जनजीवन, कृषि तथा जैविक विविधतामा समेत असर पर्न थालेको सन्देशमा जनाइएको छ ।

हिमाली जिल्ला मुस्ताङको जोमसोममा ‘घरपझोङ जलवायु सम्मेलन’ आयोजना भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री शाहले शुभकामना सन्देशमार्फत जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य हुन आवश्यक रहेको बताएका छन् ।

स्थानीय घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुईदिने सम्मेलनको आज कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी छन् । सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ ।

हिमपहिरोबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले अपूरणीय जनधनसहित भौतिक सम्पत्तिको क्षति पुर्‍याएको तथा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रमसहित व्यापक तयारी भइरहेको अवस्थामा आयोजित सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

ranechhap