वि.सं.२०८३ भदौ २६ शुक्रवार

काठमाडौं महानगरपालिकाका इन्जिनियरविरुद्ध साढे ४ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

khanepani

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो (कोइरी) सहित चारजनाविरुद्ध अख्तियारले सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ ।

भ्रष्टाचारबाट आर्जित गैरकानुनी रकम नातागोताका नाममा राखी शुद्धीकरण गरेको ठहर गर्दै शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो । मुद्दा दायर गरिएका अन्य प्रतिवादीमा महतोकी श्रीमती मालाकुमारी महतो, साली रीना कुशवाहा र साढुभाइ कृष्ण प्रसाद मेहता छन् ।

मुख्य प्रतिवादी रामबाबु महतो र उनकी पत्नी मालाकुमारीलाई जनही ४ करोड ४८ लाख ७९ हजार ८४१ रूपैयाँ बिगो दाबी गरिएको छ । सँगै मनी लाउण्डरिङ्ग निवारण ऐनबमोजिम बिगोको दोब्बर जरिवाना, कैद सजाय र अवैध सम्पत्तिबाट खरिद गरिएका जग्गा जफत गर्न माग गरिएको छ ।

त्यसैगरी, गैरकानुनी सम्पत्ति लुकाउन, सम्पत्तिको स्रोत बदल्न तथा जग्गा खरिदमा सहयोग पुर्‍याई मतियारको भूमिका निर्वाह गरेको ठहर गर्दै साली रीना र साढुभाइ कृष्णप्रसादलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको छ ।

अख्तियारका अनुसार इन्जिनियर महतोले भ्रष्टाचार गरी कमाएको रकम आफू, श्रीमती, साली र साढुभाइको बैंक तथा सहकारी खाताहरूमा जम्मागरेका थिए। त्यसपछि वास्तविक मूल्य भन्दा कम थैली राखी नगद र चेकबाट जग्गा खरिद गर्ने, सहकारी तथा बैंक कर्जा र बैनाबट्टा कागजको आवरण खडा गरी तहगत कारोबार गर्ने कार्य गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

अवैध रकमलाई मुद्दती निक्षेपमा राखी त्यसबाट आएको ब्याजलाई आम्दानीको वैधानिक स्रोत देखाउने र अन्ततः गैरकानुनी सम्पत्तिलाई वैध सम्पत्तिका रूपमा देखाउने प्रयास गरिएको अनुसन्धानबाट खुलेको छ ।

यस अघि महतोविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा २०८२ जेठ २६ गते ४ करोड ५८ लाख ९७ हजार ४०३ रूपैयाँ बिगो दाबीसहित मुद्दा पनि विचाराधीन छ ।

ranechhap