वि.सं.२०८३ भदौ २५ बिहीवार

उद्योगमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै महासंघले भन्यो, ‘उद्योगीलाई दोष दिएर ग्यास समस्या सुल्झिँदैन’

मन्त्री यादवले उद्योगीको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन भन्ने अभिव्यक्ति दिएकी थिइन् । मन्त्रीका यस्ता अभिव्यक्ति अत्यन्तै आपत्तिजनक, गैरजिम्मेवार र दुःखद् रहेको महासंघले स्पष्ट पारेको छ ।

khanepani

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको अभिव्यक्तिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको उद्योग समिति बैठकमा मन्त्री यादवले व्यक्त गरेको धारणाप्रति महासंघले असन्तुष्टि जनाएको हो । एलपी ग्यास आपूर्ति व्यवस्थाका सन्दर्भमा उद्योगी–व्यवसायीलाई दोषी देखाउने काम भएको महासंघको भनाइ छ ।

मन्त्री यादवले उद्योगीको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन भन्ने अभिव्यक्ति दिएकी थिइन् । मन्त्रीका यस्ता अभिव्यक्ति अत्यन्तै आपत्तिजनक, गैरजिम्मेवार र दुःखद् रहेको महासंघले स्पष्ट पारेको छ ।

‘ग्यास ढुवानीमा समस्या आउनुको मुख्य कारण प्राकृतिक विपद् हो । भोटेकोशीको बाढी र पृथ्वी राजमार्गको पहिरोले गर्दा ग्यास बुलेट रोकिएका हुन् । यथार्थलाई उपेक्षा गर्दै व्यवसायीलाई लाञ्छित गर्दा निजी क्षेत्रको मनोबल खस्किने छ । ग्यास उद्योगको सङ्ख्या धेरै भएको वा खारेज गर्नुपर्ने मन्त्रीको धारणा असान्दर्भिक रहेको छ । सरकार आफैंले उद्योग चलाउने प्रयास गर्नु उचित हुँदैन । सरकारले अभिभावक, नियामक र सहजकर्ताको भूमिका खेल्नुपर्छ । निजी क्षेत्रलाई प्रोत्साहित गर्दै प्रतिस्पर्धी वातावरण बनाउनु सरकारको मुख्य जिम्मेवारी हो’ महासंघले भनेको छ ।

सरकारले दोषारोपण गर्नुको सट्टा नीतिगत, प्रशासनिक र पूर्वाधारगत सुधारमा ध्यान दिनु पर्ने निजी क्षेत्रले बताएको छ । निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन, आर्थिक विकासको मुख्य साझेदार हो । अविश्वास र टकराव छाडेर निरन्तर संवाद र सहकार्यबाट मात्रै अर्थतन्त्रलाई संकटबाट बाहिर निकाल्न सकिने महासंघको निष्कर्ष छ ।

ranechhap