काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको व्यवस्थापकीय क्षमतामाथि प्रश्न उठाएका छन् ।
उपभोक्ताहरू बिहानैदेखि ग्यासका लागि घण्टौँ लाइनमा बस्नुपर्ने र अन्त्यमा रित्तो हात फर्किनुपर्ने अवस्थालाई पीडादायी भन्दै उनले जनताको घरको चुल्हो बाल्ने ग्यासको चिन्तासँगै बढ्दो महँगी र कालोबजारीले सर्वसाधारणको जीवन कष्टकर बनेको उल्लेख गरेका छन् ।
सहमहामन्त्री राणाले सरकारकै तथ्याङ्कलाई उद्धृत गर्दै सामान्य माग धान्ने गरी ग्यास आयात भइरहेको दाबी गरेका छन् । ‘साउन महिनामा मात्रै दैनिक माग भन्दा औसत २५ प्रतिशत बढी ग्यास आयात भएको र हजारौँ सिलिन्डर काठमाडौँ भित्रिएको तथ्याङ्कले देखाउँछ,’ राणाले फेसबुकमा लेखेका छन्, ‘त्यसैले अभावको कारण आयातमा होइन, बोटलिङ, वितरण, डिलरसम्मको आपूर्ति र समग्र व्यवस्थापनमा खोज्नुपर्छ।’
उनले सरकारसँग प्रश्न गर्दै भनेका छन्, ‘ग्यास आएको हो भने जनताको घरसम्म पुग्न कहाँ रोकियो ? कुन उद्योगले कति सिलिन्डर भर्यो ? कुन डिलरले कति पायो ? सरकारले यी प्रश्नको जवाफ तथ्यसहित दिनुपर्छ।’
प्राकृतिक विपद् र सडक अवरोधले केही समस्या थपे पनि महिनौँदेखि दोहोरिरहेको अभावलाई त्यसैको नाममा पन्छाउन नमिल्ने राणाको तर्क छ। ‘उपभोक्ताको अधिकारमाथि खेलबाड गर्ने छुट कसैलाई छैन,’ उनले भने, ‘हरेक असफलताको दोष विगततिर देखाएर वर्तमान सरकार उम्किन सक्दैन। आज सरकारमा रहेकाले आजकै समस्याको जवाफ र समाधान दिनुपर्छ।’
उनले सरकारको पहिलो जिम्मेवारी जनतालाई सहज र सुरक्षित आपूर्ति सुनिश्चित गर्नु रहेको स्मरण गराउँदै तत्काल आपूर्ति व्यवस्था चुस्त बनाउन र बजारमा देखिएको कृत्रिम अभाव र कालोबजारी रोक्न माग गरेका छन्।






































