काठमाडौं । नेकपाका सहसंयोजक माधव नेपालले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीलाई हिमालय विपत्तिका रूपमा अध्ययन गर्नुपर्ने बताएका छन्।
आज सिन्धुपाल्चोक पुगेका नेपालले एक कार्यक्रममा बोल्दै बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्दै पीडितको उद्धार, खोजी तथा पुनर्निर्माणमा सरकारले थप गम्भीरता देखाउनुपर्ने बताए। भोटेकोशी र रसुवा क्षेत्रमा आएको बाढी आफूहरूले समेत कल्पना नगरेको तहको रहेको उनको भनाइ छ।
उनले भने, ‘हामी कसैले पनि यो तहको बाढी आउला भनेर चिताएका थिएनौँ। सम्भवतः संसारले पनि चिताएको थिएन। त्यसैले हाम्रो पार्टीको केन्द्रीय संयोजन समितिको बैठकमा समेत उक्त बाढी र त्यसको नामकरणका विषयमा गहन छलफल गरेका छौँ।’
अझै पनि केही बेपत्ता व्यक्ति जीवितै फेला पर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर खोजी कार्य जारी राख्न सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘१२ दिनपछि मान्छे जिउँदो फेला पर्न सक्छ भने अझै पनि सम्भावना छ। त्यस कुरालाई विशेष महत्त्व दिएर त्यहाँ अझै खोजी कार्यलाई अघि बढाउन सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ।’
आगामी दिनमा सरकारले विशेष योजना बनाएर प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम अघि बढाउनुपर्ने उनको भनाइ छ। विपत्तिको समयमा सरकारले अपेक्षित गम्भीरता नदेखाएको आरोपसमेत लगाए।
उनले भने, ‘यो सरकारले जति ध्यान दिनुपर्ने थियो, जति गम्भीर हुनुपर्ने थियो, जसरी सम्पूर्ण रूपमा विश्वहरूको ध्यानलाई आकृष्ट गर्दै सहयोगहरू लिनुपर्ने थियो, त्यस कुरामा उसले ठूलो कमजोरी गरेको छ। त्यसलाई उसले स्वीकार गर्नुपर्छ। अब त्यस्ता गल्तीहरू नदोहोरिउन् भन्ने कुराप्रति सचेत हुनुपर्दछ।’






































