वि.सं.२०८३ भदौ २३ मंगलवार

सुशासनबिना दुई तिहाइले पनि स्थिरता दिन सक्दैन : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

khanepani

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सुशासन अभावमा संसद्को दुई तिहाइ बहुमतले मात्र राजनीतिक स्थिरता दिन नसक्ने स्पष्ट पारेकी छन्। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले उक्त आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई यसको कडा सन्देश दिएको बताएकी हुन्।

राजनीतिक स्थायित्व संसदीय अङ्कगणितमा नभई नेतृत्वको चरित्र र कार्यशैलीमा निर्भर रहने उनको भनाइ छ। कार्कीले भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको आत्मसम्मानको प्रत्याभूतिका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिएकी छन्।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। सुशासन, जवाफदेहिता र पारदर्शिताको माग गर्दै युवाहरूले उठाएको शान्तिपूर्ण आवाज दबाउने क्रममा निर्दोषको ज्यान गएको, कैयौँ नागरिक अपाङ्ग भएको र राष्ट्रिय धरोहरहरू नष्ट भएको उल्लेख गर्दै उनले त्यो राष्ट्रिय घाउ कहिल्यै नपुरिने बताएकी छन्। फेरि जनता सडकमा आउनुपर्ने अवस्था नआओस् भन्नका लागि सबै पक्ष जिम्मेवार र चनाखो बन्नुपर्ने उनको सुझाव छ।

त्यस्तै, मुलुक हाल भोटेकोशी बाढीको नयाँ विपद् र पीडाबाट गुज्रिरहेको उल्लेख गर्दै कार्कीले यस कठिन समयमा धैर्यता, जिम्मेवारी र ऐक्यबद्धताका साथ एकअर्काको सहारा बन्न सबै नागरिकलाई आह्वान गरेकी छन्।

ranechhap