काठमाडौं । भारतको उत्तराखण्डस्थित सिल्क्यरा सुरुङमा फसेका ४१ मजदुरको सकुशल उद्धार गरेर विश्वभर ख्याति कमाएका अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले नेपालको बाढीग्रस्त सुरुङहरूमा जारी खोजी तथा उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताएका छन्।
अन्तर्राष्ट्रिय टनेलिङ तथा अन्डरग्राउन्ड स्पेस एसोसिएसन (आईटीए) का वरिष्ठ विज्ञ डिक्सले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै नेपालको अवस्था विगतका अनुभवभन्दा नितान्त फरक र चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन्। “अहिले नेपालमा हामीले त्यस्तो अवस्थाको सामना गरिरहेका छौँ, जुन मैले पहिले कहिल्यै भोगेको थिइनँ,” डिक्सले लेखेका छन्, “यहाँ कुनै एउटा मात्र उद्धार होइन, फरक–फरक स्थानहरूमा एकैपटक धेरै सम्भावित उद्धारहरू सँगसँगै अगाडि बढिरहेका छन्; जहाँ हरेक ठाउँमा आ–आफ्नै खतरा र अनिश्चितताहरू छन्।”
सन् २०२३ को सिल्क्यरा सुरुङ दुर्घटनालाई स्मरण गर्दै उनले एउटा कठिन परीक्षा पार गर्नुको अर्थ अर्को त्योभन्दा ठूलो जिम्मेवारी पाउनु रहेको बताएका छन्। पाश्चात्य ‘कर्तव्य’ र पूर्वीय दर्शनको ‘धर्म’को व्याख्या गर्दै उनले परिणाम अज्ञात हुँदाहुँदै पनि सही कामका लागि निरन्तर लागिरहनु नै धर्म भएको टिप्पणी गरेका छन्।
रसुवा बाढीको सुरुवाती दिनमा अस्ट्रेलियाबाटै नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक परामर्श दिएका डिक्सकै सल्लाहका आधारमा बाढीको १० दिनपछि त्रिशूली ३ ‘ए’ को जलमग्न सुरुङबाट दुई प्राविधिकलाई जीवितै उद्धार गर्न सम्भव भएको थियो। हाल नेपालमै उपस्थित भएर स्थलगत नेतृत्व गरिरहेका डिक्सले हिलो र पानीले पुरेका संरचनाभित्र पनि ‘सुरक्षित एयर पकेट’ हुनसक्ने भन्दै चिलिमे लगायतका आयोजनाहरूमा खोजी कार्य जारी राखेका छन्। उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने दृढता व्यक्त गर्दै उनले आफूहरूले त्याग्न अस्वीकार गरेका जीवनहरूका आधारमा मूल्यांकन हुने बताएका छन्।








































