काठमाडौँ । पार्टीभित्रको विवाद समाधानको प्रयासका लागि सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच शनिवार साँझ भेटवार्ता भएको छ ।
दुई नेताबिच ‘वान टु वान’ भेट भएको दुवै पक्षले पुष्टि गरे । ‘हिजो साँझ सभापति र निवर्तमान कार्यवाहक सभापतिबिच भेटघाट भएको हो । सभापतिज्यूले निवर्तमान कार्यवाहक सभापतिले राखेका माग पूरा गर्न सहमति जनाउनु भएको छ,’ स्रोतले भन्यो, ‘अब सहमति हुने सम्भावना बढ्यो ।’
खड्काले १५ औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएकालाई अद्यावधिक नगरेको निहुँमा १५औँ महाधिवेशनमा भाग लिनबाट कसैले वञ्चित गर्न नसक्ने बताउँदै आएका छन् । सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता आफ्नो जिम्मेवारी रहेको उनको भनाइ रहँदै आएको छ । साथै उनले १४ औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित सदस्यहरूलाई पनि विशेष महाधिवेशनमा समेट्नु पर्ने बताइरहेका छन् ।
त्यो विषयमा सभापति थापा सकारात्मक रहेको स्रोतहरूले बताएका छन् । त्यस्तै आइतबार बिहान ११ बजे सभापति थापा र नेता डा. शेखर कोइरालाबिच पनि भेट हुँदै छ । भेटमा नेता डा. कोइरालाले राखेका एजेन्डाबारे कुरा हुने बताइएको छ ।
डा. कोइरालाले पार्टीमा एकता कायम राख्नका लागि भन्दै १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४ औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औँ महाधिवेशन गर्ने, १४ औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने, कार्यसम्पादनमा सभापतिको बहुमत हुने गरी गठन गर्ने, निर्वाचन समिति, क्रियाशील छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरू आपसी सहमतिबाट मात्रै बनाउने प्रस्ताव राखेका छन्। ती प्रस्तावमा खड्काको पनि सहमति रहेको नेताहरू बताउँछन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति आफैँले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि भेटघाट गरिरहेको बताए ।
सहमतिको सम्भावना बनेको बताउँदै प्रवक्ता चालिसेले को–को सँग सभापतिले भेटेको भन्नेबारे दिउँसो १ बजे बस्ने कार्यसम्पादन समिति बैठकमा ब्रिफिङ हुने बताए ।
‘विवाद समाधानका लागि सभापतिज्यूले केही नेताहरूलाई भेटिसक्नुभयो । केहीसँग भेट्दै हुनुहुन्छ,’ प्रवक्ता चालिसेले भने, ‘ भेटमा के के कुरा भयो ? भन्ने ब्रिफिङ आज कार्यसम्पादन समिति बैठक छ त्यहाँ हुन्छ ।’
उनले सहमतिको सम्भावना प्रबल रहेको पनि बताए ।
सहमति भएमा भदौ २४ गते गर्ने भनिएको पार्टीको १५ औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशन केही समय सर्न सक्ने र त्यो निर्णय कार्यसम्पादन समिति बैठकबाट हुने सक्ने सङ्केत प्रवक्ता चालिसेले गरे ।






































