वि.सं.२०८३ भदौ १६ मंगलवार

ट्रम्पको लोकप्रियता राजनीतिक जीवनकै न्यून विन्दुमा

युद्धका क्रममा लामो समयसम्म तनाव केही कम भए पनि पछिल्ला दिनमा अमेरिका र इरानबीच क्षेप्यास्त्र आक्रमण भएका छन् । युद्ध सुरु भएयता इरानले विश्वव्यापी तेल व्यापारका लागि महत्वपूर्ण पारवहन मार्गमा ठूलो अवरोध सिर्जना गरेको छ ।

khanepani

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसम्पादनप्रतिको जनसमर्थन उनको राजनीतिक जीवनकै न्यून विन्दुमा पुगेको छ ।

इरानसँगको युद्ध र रिपब्लिकन पार्टीले सम्हालेको आर्थिक अवस्थाप्रति व्यापक असन्तुष्टि बढेसँगै मतदाताको झुकाव डेमोक्र्याटिक पार्टीतर्फ देखिएको रोयटर्स र इप्सोसको सर्वेक्षणले देखाएको छ ।

सार्वजनिक सर्वेक्षणअनुसार ह्वाइट हाउसमा ट्रम्पले गरिरहेको कामलाई ३३ प्रतिशत अमेरिकीले मात्र अनुमोदन गरेका छन् । लगातार तेस्रो रोयटर्स-इप्सोस सर्वेक्षणमा ट्रम्पको समर्थन ३३ प्रतिशतमा सीमित भएको हो ।

ट्रम्पप्रतिको घट्दो जनसमर्थन आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीका लागि चुनौती बन्न सक्ने देखिएको छ । निर्वाचनमा रिपब्लिकन पार्टीले संसदमा आफ्नो झिनो बहुमत जोगाउनुपर्नेछ । सर्वेक्षणमा आफूलाई डेमोक्र्याट बताउने ४६ प्रतिशतले नोभेम्बरको निर्वाचनमा मतदान गर्न आफूहरू ‘अत्यन्त उत्साहित’ रहेको बताएका छन् । रिपब्लिकनमध्ये यस्तो धारणा राख्नेको संख्या ३१ प्रतिशत मात्रै छ ।

संसदीय निर्वाचन आजै भएको अवस्थामा कुन पार्टीलाई मतदान गर्नुहुन्छ भन्ने प्रश्नमा ३६ प्रतिशत स्वतन्त्र मतदाताले डेमोक्र्याटिक पार्टी रोजेका छन् भने २२ प्रतिशतले रिपब्लिकन पार्टी रोजेका छन् । देशभरका १ हजार १६७ जना वयस्क सहभागी रहेको चारदिने सर्वेक्षण गरिएको थियो ।

अगस्टको मध्यदेखि ट्रम्पको जनसमर्थन उनको पहिलो कार्यकालको सुरुवाती समयमा छोटो समयका लागि देखिएको स्तरमा झरेको छ । उनको वर्तमान कार्यकालको सुरुवाती चरणमा भने ४७ प्रतिशत अमेरिकीले उनको कार्यसम्पादन अनुमोदन गरेका थिए ।

ट्रम्पको वर्तमान समर्थन दर उनका पूर्ववर्ती राष्ट्रपति तथा डेमोक्र्याटिक नेता जो बाइडेनको कार्यकालमा देखिएको न्यूनतम दरभन्दा पनि कम हो । बाइडेनको समर्थन दर सन् २०२४ को अक्टोबरमा ३५ प्रतिशतसम्म झरेको थियो ।

बाइडेनजस्तै ट्रम्प पनि बढ्दो महँगीका कारण जनअसन्तुष्टिको सामना गरिरहेका छन् । फेब्रुअरीमा ट्रम्पले इरानमाथि अमेरिकी बमबारी सुरु गर्न आदेश दिएपछि पेट्रोलको मूल्य बढेको छ । सर्वेक्षणअनुसार इरानसँगको युद्धलाई समर्थन गर्ने अमेरिकीको संख्या ३६ प्रतिशत मात्रै छ ।

युद्धका क्रममा लामो समयसम्म तनाव केही कम भए पनि पछिल्ला दिनमा अमेरिका र इरानबीच क्षेप्यास्त्र आक्रमण भएका छन् । युद्ध सुरु भएयता इरानले विश्वव्यापी तेल व्यापारका लागि महत्वपूर्ण पारवहन मार्गमा ठूलो अवरोध सिर्जना गरेको छ ।

जीवनयापनको बढ्दो लागत व्यवस्थापन गर्ने ट्रम्पको नीतिप्रति ७१ प्रतिशत अमेरिकी असन्तुष्ट छन् । असन्तुष्ट हुनेमा रिपब्लिकन पार्टीका करिब ४० प्रतिशत समर्थकसमेत छन् । पछिल्लो एक महिनादेखि सर्वेक्षणमा सहभागी दर्ता भएका मतदाताले अर्थतन्त्रका विषयमा रिपब्लिकन पार्टीको तुलनामा डेमोक्र्याटिक पार्टीसँग राम्रो योजना रहेको बताएका छन् । करिब एक दशकपछि पहिलोपटक अर्थतन्त्रको विषयमा डेमोक्र्याटिक पार्टीले रिपब्लिकन पार्टीलाई उछिनेको हो । यस सर्वेक्षणको त्रुटिको सम्भावित सीमा दुवैतर्फ तीन प्रतिशत रहेको बताइएको छ ।

ranechhap