वि.सं.२०८३ भदौ ७ आइतवार

रास्वपाको आन्तरिक कार्यशालामा एनडीआई प्रतिनिधि विदुषी ढुङ्गेलको प्रशिक्षण, पार्टीभित्र असन्तुष्टि

khanepani

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित दुई दिने आन्तरिक कार्यशालाको दोस्रो दिन अमेरिकी संस्था ‘नेसनल डेमोक्रेटिक इन्स्टिच्युट’ (एनडीआई) की राष्ट्रिय प्रतिनिधि विदुषी ढुङ्गेलले प्रशिक्षण दिएकी छन्। काठमाडौँको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा जारी ‘नीति, संगठन र नेतृत्व’ (शृङ्खला–१) कार्यशालामा ढुङ्गेलले आज दिउँसो २ बजे ‘२१औँ शताब्दीको राजनीतिक पार्टी निर्माण’ शीर्षकको सत्रमा सहजीकरण गरेकी हुन्। पार्टीको आन्तरिक संगठनात्मक तथा रणनीतिक प्रशिक्षणमा विदेशी संस्थाकी प्रतिनिधिलाई समावेश गराइएको भन्दै पार्टीका केही नेताहरूले भने नेतृत्वसमक्ष असहमति जनाएका छन्।

पार्टीको नीति तथा संगठन सुदृढीकरणका लागि आयोजित आवासीय कार्यशालालाई अनिल चित्रकार, प्रमोद न्यौपाने र आनन्द मिश्रले मुख्य सहजीकरण गरिरहेका छन्। कार्यशालाको पहिलो दिन शनिबार पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्तावनाको व्याख्या, सामाजिक लोकतन्त्र र त्यसका आधारहरू तथा महामन्त्री विपीनकुमार आचार्यले पार्टीको आधारभूत मूल्य मान्यता र स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखाबारे प्रस्तुति दिएका थिए। त्यस्तै पहिलो दिन पूर्वसचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया र उपसभापति सोविता गौतमले पार्टी र सरकारको अन्तरसम्बन्धबारे बोलेका थिए।

आज दोस्रो दिन भने पार्टीको सांगठानिक संरचनामाथि निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, मिडिया र सोसल मिडियाको प्रयोगबारे केन्द्रीय सदस्य प्रमोद न्यौपाने तथा राजनीतिज्ञका रूपमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबारे किरण तिमिल्सिनाले सत्र सञ्चालन गरेका छन्। एनडीआई प्रतिनिधि ढुङ्गेलको प्रशिक्षण सत्र सम्पन्न भएसँगै कार्यशालाको समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने र सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यतालिका रहेको छ। विदेशी संस्थाको सहजीकरणलाई लिएर पार्टीभित्रै अनौपचारिक बहस चले पनि कार्यक्रम भने कार्यतालिका अनुसार नै अघि बढेको बताइएको छ।

ranechhap