काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपज तथा माछाको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
समितिले सार्वजनिक गरेको विवरण अनुसार भान्सामा दैनिक प्रयोग हुने ठूलो गोलभेँडा नेपाली प्रतिकिलो ८० रुपैयाँ र भारतीय १०० रुपैयाँ कायम भएको छ। यस्तै, सानो गोलभेँडा लोकल ४० र टनेलको ६५ रुपैयाँ तोकिएको छ। आलु रातो लाम्चो ५१, गोलो ५३, मुढे ५३, भारतीय ४० र सेतो आलु प्रतिकिलो ३७ रुपैयाँमा कारोबार भइरहेको छ भने सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो ७५ रुपैयाँ निर्धारण गरिएको छ।
अन्य ताजा तरकारीतर्फ गाजर लोकल १२० र तराई ८०, बन्दा लोकल ५०, स्थानीय काउली १००, रातो मूला ३०, सेतो हाइब्रिड मूला ३५, लाम्चो भन्टा ३० र डल्लो भन्टा प्रतिकिलो ४० रुपैयाँ तोकिएको छ। सिमी तथा बोडी समूहमा तने बोडी ९०, मकै बोडी १२०, घिउ सिमी (लोकल र हाइब्रिड दुवै) ९०, टाटे सिमी ८० र भटमास कोसा प्रतिकिलो १२० रुपैयाँ रहेको छ। त्यस्तै तीते करेला ५०, लौका ६०, लोकल तथा तराई परवर ७०, चिचिण्डो र घिरौँला ३०, झिगुनी ६०, पाकेको फर्सी ६०, हरियो डल्लो फर्सी ७०, भिन्डी ६०, पिँडालु ९०, स्कुस ६०, निउरो १००, ब्रोकाउली १६०, चुकन्दर ७०, सजीवन ३००, रातो बन्दा ४०, गान्टेमूला १५० र रुख टमाटर प्रतिकिलो ४०० रुपैयाँ कायम भएको छ। काँक्रो लोकल र लोकलक्रस ५० तथा हाइब्रिड १५ रुपैयाँमा झरेको छ।
सागपात तथा च्याउ समूहमा रायो साग प्रतिकिलो १५०, पालुङ्गो २५०, तोरीको साग १००, हरियो प्याज २००, जिरीको साग ५००, सेलरी २५०, सौफको साग १५० र पुदिना ५०० रुपैयाँ निर्धारण गरिएको छ। सूचीमा पार्सले सबैभन्दा महँगो प्रतिकिलो १,५०० रुपैयाँ पुगेको छ। यस्तै कुरिलो ५००, सिताके च्याउ १,०००, डल्ले च्याउ ५५०, राजा च्याउ ३३० र कन्य च्याउ प्रतिकिलो २८० रुपैयाँ तोकिएको छ। मसला तथा अन्य परिकारतर्फ अदुवा २३०, सुकेको खुर्सानी ५५०, हरियो अकबरे खुर्सानी ३००, हरियो लाम्चो र बुलेट खुर्सानी ८०, माछे खुर्सानी र भेडे खुर्सानी ७०, हरियो लसुन २००, सुकेको चाइनिज लसुन २४०, सुकेको नेपाली लसुन २००, हरियो धनियाँ ३५०, छ्यापी २००, इमली १८०, तामा तथा तोफु १६० र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँमा निर्धारण भएको छ।
फलफूलतर्फ स्याउ फुजी प्रतिकिलो ३००, नेपाली केरा प्रतिदर्जन ३०० र मालभोग २०० रुपैयाँ तोकिएको छ। त्यस्तै कागती २५०, अनार ३५०, मालदह आँप २८०, चोसा आँप २५०, हरियो तरबुजा ६०, जुनार ३००, भुइँकटहर प्रतिगोटा २००, रुख कटहर प्रतिकिलो ६०, लोकल नास्पाती ९०, चाइनिज नास्पाती २००, नेपाली मेवा ९०, भारतीय मेवा १२०, लप्सी ६०, किबी ४००, अमला २००, एभोकाडो ५००, ड्रागन फ्रुट ५००, काँचो नरिवल ८० र हरियो नरिवल प्रतिगोटा १७० रुपैयाँ कायम भएको छ।
यसैगरी माछातर्फ सुकेको माछा प्रतिकिलो १,००० रुपैयाँ, ताजा रहु माछा ३७० रुपैयाँ तथा बचुवा र छडी माछा प्रतिकिलो ३३० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।








































