वि.सं.२०८३ भदौ ३ बुधवार

ट्रम्पद्वारा होर्मुज जलमार्गलाई ‘अमेरिकी भूभाग’ दाबी, इरानको नियन्त्रण कमजोर बन्दै

khanepani

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा विश्वकै संवेदनशील जलमार्ग मानिने ‘स्ट्रेट अफ होर्मुज’ (होर्मुज जलडमरूमध्य) लाई ‘अमेरिकाको नयाँ भूभाग’ भन्दै दाबी गरेका छन्। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत एक नक्सा सार्वजनिक गर्दै उनले इरान र ओमानबीच रहेको उक्त सामुद्रिक मार्गलाई घेरेर सो दाबी गरेका हुन्। यसअघि न्युयोर्कमा आयोजित एक कार्यक्रममा पनि ट्रम्पले इरानमाथि विजय हासिल गरेपछि यस क्षेत्रलाई अमेरिकी भूभाग घोषणा गर्ने योजना सुनाएका थिए।

इरानले भने ट्रम्पको यस दाबीलाई ठाडो रूपमा अस्वीकार गरेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसिन रजाईले अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म, रोक्का गरिएको इरानी सम्पत्ति फिर्ता नगरेसम्म र गाजा तथा लेबनानसहित समग्र क्षेत्रमा युद्धविराम नभएसम्म होर्मुज जलमार्ग बन्द नै रहने चेतावनी दिएका छन्। इरानले जलमार्गमा आफ्नो नियन्त्रण कायमै रहेको दाबी गरे पनि पछिल्ला विवरणहरूले उसको पकड निकै कमजोर भएको देखाएका छन्।

अमेरिकी नौसेनाको बढ्दो उपस्थितिका बीच इरानले यस महत्त्वपूर्ण जलमार्गमाथिको ठूलो नियन्त्रण गुमाउँदै गएको विश्लेषण गरिएको छ। जहाज निगरानी संस्था ‘केप्लर’को तथ्याङ्क अनुसार पछिल्ला दुई हप्तामा होर्मुजबाट हुने जहाज आवागमनमध्ये ८० प्रतिशतभन्दा बढी संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त ओमानतर्फको मार्गबाट हुन थालेका छन्। एक महिना अघिसम्म लगभग प्रयोगविहीन रहेको ओमानको यो जलमार्ग अहिले व्यावसायिक जहाजहरूको मुख्य रोजाइ बनेको छ।

इरानले आफ्नो चेतावनी बेवास्ता गर्दै ओमानतर्फबाट ओहोरदोहोर गर्न खोज्ने जहाजहरूमाथि आक्रमणको धम्की दिए पनि अधिकांश जहाजहरू अमेरिकी नौसेनाको सुरक्षा आश्वासनका कारण सोही मार्ग प्रयोग गरिरहेका छन्। आफ्नो प्राथमिक मार्गबाट जहाज आवागमन घटेपछि इरानले विगतमा उठाउँदै आएको पारवहन शुल्क उठाउने अवसरसमेत गुमाएको छ। दुई देशबीचको पछिल्लो समझदारी समाप्त भए पनि व्यावहारिक रूपमा इरानले शुल्क असुल्न सकेको छैन।

इरानी आक्रमणको जोखिम छल्न खाडी मुलुकहरू साउदी अरब, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) ले सतर्कतापूर्वक तेल ढुवानी गरिरहेका छन्। उनीहरूले विश्वकै ठूला तेल ट्याङ्करहरू (भीएलसीसी) मार्फत आफ्नो पहिचान प्रणाली (ट्रान्सपोन्डर) बन्द गरेर जलमार्ग पार गराउने ‘डार्क ट्राफिक’ रणनीति अपनाएका छन्। यसरी जोखिमयुक्त क्षेत्र पार गराएपछि ओमानको खाडीमा पुगेर ग्राहकका ट्याङ्करहरूमा तेल स्थानान्तरण गरिन्छ।

अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार अहिले होर्मुज र वैकल्पिक मार्गहरूबाट दैनिक करिब १ करोड ५० लाख ब्यारेल तेल ढुवानी भइरहेको छ, जुन युद्धअघिको दैनिक २ करोड ब्यारेलको तुलनामा केही कम हो। यिनै तथ्याङ्कका आधारमा ट्रम्पले जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरे पनि विज्ञहरूले भने यसलाई अतिरञ्जित ठानेका छन्। तेल ढुवानीको परिमाण पुरानै अवस्थामा नफर्किएको र इरानसँग अझै पनि केही हदसम्म अवरोध पुर्‍याउने प्रतिरोध क्षमता बाँकी रहेकाले कुनै एक पक्षको पूर्ण नियन्त्रण नरहेको विश्लेषकहरूको ठम्याइ छ। यसैबीच, ओमान र इरानले अमेरिकी सहभागिताबिना नै जलमार्गमा स्वतन्त्र सामुद्रिक आवागमन पुनः सुरु गर्न कूटनीतिक वार्ता अगाडि बढाइरहेका छन्।

ranechhap