वि.सं.२०८३ भदौ ३ बुधवार

सङ्घीय संसद्का दुवै सदनको बैठक आज: यी हुन् मुख्य कार्यसूची

khanepani

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको बैठक आज बुधबार बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने तथा मन्त्रालयगत प्रश्नोत्तर सञ्चालन गर्ने कार्यसूची तय गरिएको छ।

बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। सोही बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता’ सदनसमक्ष पेस गर्ने कार्यक्रम छ।

यसैगरी, अपराह्न सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्नेछन्। साथै, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूचीसमेत रहेको छ। राष्ट्रिय सभाको सोही बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ।

ranechhap