एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यासमा ‘ठूलो कटौती’ गर्ने बताएका छन्।
ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो ‘धेरै राम्रो सम्बन्ध’ रहेको भन्दै सैन्य अभ्यासमा कमी गर्ने बताएका हुन्।
आइतबार आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले दक्षिण कोरियाले हालै इरानको ‘परमाणु निशस्त्रीकरण’ अभियानमा अमेरिकासँग सहभागी हुन अस्वीकार गरेको दाबी पनि गरेका छन्।
ट्रम्पले संयुक्त सैन्य अभ्यास महँगो हुने र त्यसको ठूलो हिस्सा अमेरिकाले नै बेहोर्नुपर्ने बताएका छन्। उनका अनुसार यस्ता अभ्यासले ‘अनुचित र शत्रुतापूर्ण’ सन्देशसमेत दिने गरेका छन्।
उनले लेखेका छन्, ‘यी सैन्य अभ्यासहरू महँगा मात्र छैनन्, जसको ठूलो हिस्सा सधैँझैँ अमेरिकाले नै बेहोर्छ, यसले पूर्ण रूपमा अनुचित र शत्रुतापूर्ण सन्देश पनि दिन्छ।’
तर दक्षिण कोरियाले भने अमेरिकासँगको सैन्य अभ्यास ‘तय कार्यक्रमअनुसार’ जारी रहने जनाएको छ। उत्तर कोरियाले भने ट्रम्पको पछिल्लो भनाइबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
यो घटनाक्रम उत्तर कोरियाले यसै महिना संयुक्त राष्ट्रसंघद्वारा प्रतिबन्धित ब्यालिस्टिक क्षेप्यास्त्रहरूको परीक्षण गरिरहेको समयमा आएको हो।
ट्रम्पले आइतबारको पोस्टमा यसपटकको सैन्य अभ्यास रद्द गर्न ‘धेरै ढिला भइसकेको’ बताएका छन्। अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गर्ने तयारी गरेका छन्।
ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपतिसँग आफूले हालै इस्लामिक गणतन्त्र इरानको परमाणु निशस्त्रीकरणमा अमेरिकासँग सहभागी हुन चाहनुहुन्छ कि भनेर सोधेको पनि दाबी गरेका छन्।
‘मैले हालै दक्षिण कोरियाका राष्ट्रपतिलाई इस्लामिक गणतन्त्र इरानको परमाणु निशस्त्रीकरणमा हामीसँग सहभागी हुन चाहनुहुन्छ कि भनेर सोधेको थिएँ। उहाँले ‘होइन, धन्यवाद !’ भन्नुभयो,’ ट्रम्पले लेखेका छन्।
ट्रम्पको पछिल्लो भनाइ उनी र किम जोङ उनबीच सन् २०१९ मा खिचिएको पुरानो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको २४ घण्टाभन्दा कम समयपछि आएको हो।
उक्त तस्बिर पोस्ट गर्दै ट्रम्पले आफूहरू ‘धेरै राम्रा साथी’ भएको बताएका थिए। यद्यपि, तस्बिरमा दुवै नेताको अनुहारको भाव भने खासै मित्रवत् देखिँदैन।







































