काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा व्यक्तिगत विवरण अद्यावधिक गर्न सकिने अनलाइन सेवा सुरु गरेको छ ।
बोर्डका अनुसार विद्युतीय प्रणालीमार्फत व्यक्ति स्वयं वा दर्ता सहयोगीले परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्न तथा बीमालेख नवीकरण गर्न सक्नेछन् । यसका लागि राष्ट्रिय परिचयपत्रसँग प्रणालीलाई जोडिएको छ भने राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले पनि आवश्यक विवरण म्यानुअल रूपमा पेश गर्न सक्नेछन् ।
स्वास्थ्य बीमा शुल्क हाल इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि स्वास्थ्य बीमा गरेका परिवारले परिवारमूलीको स्वास्थ्य बीमा नम्बर प्रयोग गरी विवरण अद्यावधिक र नवीकरण गर्न सक्नेछन् ।
कार्यालय तथा संगठित क्षेत्रका लागि एकैपटक धेरै जनाको आबद्धता र नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । जिल्ला तथा प्रदेशबाट विवरण प्रमाणीकरण र स्वीकृति भएपछि विद्युतीय स्वास्थ्य बीमा परिचयपत्र जारी हुनेछ ।
बोर्डले विद्युतीय प्रणालीबाट स्वास्थ्य बीमामा आबद्धता र नवीकरण प्रक्रिया सहज हुनुका साथै सेवाग्राहीको समय बचत र सेवा प्रवाहमा पारदर्शिता बढ्ने अपेक्षा गरेको छ । विवरण अद्यावधिकमार्फत बीमितको तथ्याङ्कसमेत थप व्यवस्थित र शुद्ध हुने बोर्डले जनाएको छ । बोर्डले https://eportal.hib.gov.np/ मार्फत स्वास्थ्य बीमा अनलाईन आवद्धता तथा नवीकरण गर्न सकिने जनाएको छ ।







































