वि.सं.२०८३ साउन २९ शुक्रवार

कांग्रेसलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा अपरिहार्य : उपसभापति शर्मा

khanepani

काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र समुन्नतिको यात्रालाई गति दिन नेपाली कांग्रेस पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको बताएका छन् ।

शुक्रवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको आवश्यकता भएको उल्लेख गरे ।

उपसभापति शर्माले पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । उनले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताकै जगमा आगामी दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गरे ।

पार्टीका नेता–कार्यकर्ताहरूमा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठा माथि हुने बताए । गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेपछिको परिस्थितिबारे चर्चा गर्दै शर्माले यसलाई कसैको जित वा हारको रूपमा हेर्न नहुने बताए । उनले अदालतको फैसला आएको ४८ घण्टाभित्रै नेतृत्वले संवादको प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व (गगन थापा) को नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भुमिका निर्वाह गर्ने कुरामा आफू पूर्ण दृढ रहेको बताए ।

राजनीतिक विषयहरू मूलतः राजनीतिक ढंगले नै हल हुने भएपनि कहिलेकाहीँ कानूनी निरूपण आवश्यक हुने र ती सबै प्रक्रियालाई पार्टीको विधान, संविधान र इतिहासको निरन्तरताको जगमा सम्बोधन गरिने उनको भनाइ छ ।

ranechhap