काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रोल्पाको थवाङमा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । समाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै प्रचण्डले भनेका छन्, ‘विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा भएको जनधनको ठूलो क्षतिले मर्माहत बनेको छु।’
उनले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पूर्वी रुकुमलगायत मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध भई यात्रुहरू अलपत्र परेको र जनजीवन प्रभावित भएकोप्रति पनि उनले ध्यानाकर्षण गराएका छन्।
प्रचण्डले उद्धार तथा राहत प्रक्रिया तत्काल अघि बढाउन माग गर्दै अगाडि भनेका छन्, ‘विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, घाइतेहरूको उपचार तथा पीडित परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु।’
उनले अवरुद्ध सडक तत्काल खुलाउन आवश्यक उपकरण परिचालन गरी उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग आग्रहसमेत गरेका छन्।





































