काठमाडौँ । नेकपा एमालेका सचिव एवं परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराईले दक्षिण एसियामा भइरहेको राजनीतिक फेरबदल र शक्ति राष्ट्रहरूबिचको प्रतिस्पर्धाले नेपालका लागि नयाँ चुनौती थपेको बताएका छन्।
नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्। डा. भट्टराईले दक्षिण एसियाका प्रमुख मुलुकहरूमा देखिएको शासन परिवर्तन (रिजिम चेन्ज) को लहर र त्यसले शक्ति राष्ट्रहरूबीच निम्त्याउन सक्ने सहकार्य वा द्वन्द्वको अवस्थाबारे सूक्ष्म विश्लेषण आवश्यक रहेकोमा जोड दिए।
नेपालमा सञ्चालित कनेक्टिभिटीका परियोजनाहरू, अमेरिकी सहयोग परियोजना (एमसीसी) र चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता विषयहरू अहिले यही भूराजनीतिक खिचातानीसँग जोडिएको उनले स्पष्ट पारे। नेपालको भौगोलिक अवस्थितिको महत्त्व उल्लेख गर्दै डा. भट्टराईले शक्ति राष्ट्रहरूको उदयसँगै नेपाल उनीहरूको निगरानीको केन्द्र बनेको टिप्पणी गरे। उनीहरूले नेपालमा आफ्नो प्रभाव विस्तार र सुदृढीकरण गर्न खोजिरहेको भन्दै उनले यसलाई ‘सफ्ट बेली’ माथिको निगरानीका रूपमा अर्थ्याए।
परराष्ट्र मामिलामा नेपालको आन्तरिक तयारी कमजोर रहेको प्रति चिन्ता व्यक्त गर्दै डा. भट्टराईले भने, ‘खासगरी नेपाल र दक्षिण एसियाका प्रमुख मुलुकहरू पछिल्लो समय जुन किसिमको सत्ता परिवर्तन र राजनीतिक सङ्क्रमणको प्रक्रियाबाट गुज्रिरहेका छन्, त्यसले उनीहरूबिचको सम्बन्धलाई प्रतिस्पर्धाबाट सहकार्यतर्फ लैजाने सम्भावना छ कि प्रतिस्पर्धा अझ बढेर टकराबतर्फ जाने हो भन्ने प्रश्न महत्त्वपूर्ण छ।’
उनले अगाडि भने, ‘यसले नेपालमा प्रत्यक्ष प्रभाव पार्छ। यदि सहकार्यतर्फ उन्मुख भए त्यसको सकारात्मक प्रभाव पर्न सक्छ, तर प्रतिस्पर्धा टकराबतर्फ गयो भने त्यसको असर नेपालमा पनि पर्नेछ।’
कनेक्टिभिटी, एमसीसी र बीआरआईलगायतका विषय पनि यही भूराजनीतिक परिवेशसँग जोडिएको उल्लेख गर्दै उनले थपे, ‘दुई ठुला शक्तिबिच रहेको नेपालको भूराजनीतिक महत्त्व उनीहरूको उदयसँगै झन् बढेको छ। तेस्रो शक्तिसँगको प्रतिस्पर्धाका दृष्टिले नेपाल उनीहरूका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण स्थान बनेको छ। त्यसैले उनीहरूले आफ्नो प्रभाव विस्तार र उपस्थिति सुदृढ गरिरहेका छन्।’
यस्ता विषयमा गहिरो अध्ययन र विश्लेषण गर्ने संस्थागत संरचना अझै पर्याप्त नभएको भन्दै उनले चिन्ता व्यक्त गरे। डा. भट्टराईले चेतावनी दिँदै भने, ‘परिणामतः हामी चुनौतीपूर्ण अवस्थामा छौँ। यो वास्तविकतालाई समयमै सम्बोधन गर्न सक्यौँ भने मुलुकलाई सही दिशामा अघि बढाउन सक्छौँ। अन्यथा, हामी आपसमा मिल्न नसक्ने र अन्ततः अरूले मिलाइदिनुपर्ने अवस्थातर्फ जाने जोखिम छ।’
यो यथार्थलाई समयमै बुझेर सम्बोधन गर्न नसकिए मुलुक गम्भीर सङ्कटमा फस्ने चेतावनीसमेत उनले दिए।






































