वि.सं.२०८३ साउन २५ सोमवार

नवलपरासीमा पत्थरखोलाको पुलनजिक माइक्रोबस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते

khanepani

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१६ पत्थरखोलाको पुलनजिक माइक्रोबस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका छन् ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १००० नम्बरको विद्युतीय माइक्रोबसको अगाडिको बायाँतर्फको टायर पञ्चर भएपछि बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका बेला माइक्रोबसमा चालक र सहचालकसहित सात जना सवार थिए। घाइते हुनेमा कावासोती नगरपालिका–८ का २७ वर्षीय चालक होरामणी महतो, कावासोती–३ का ७४ वर्षीय सुरेश कुँवर र उनकी ६२ वर्षीया श्रीमती लालकुमारी कुँवर रहेका छन् ।

त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का ४५ वर्षीय धनराज बुढा, वीरेन्द्रनगर–६ का ३६ वर्षीय बलबहादुर बुढा र नवलपरासी पश्चिमको सरावल गाउँपालिका–३ का ५५ वर्षीय विधासागर लोना चमार घाइते भएका छन् ।

घाइते चालक महतोको कालीगण्डकी अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य घाइतेहरूको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ranechhap