वि.सं.२०८३ साउन १८ सोमवार

तीन बुँदे सहमति र अध्यक्षको निर्देशन कार्यान्वयनको चरणमा छौं : शेरधन राई

khanepani

विराटनगर । नेकपा (एमाले) का केन्द्रीय सचिव शेरधन राईले पार्टीको निर्णय र नेतृत्वको निर्देशन कार्यान्वयन हुने बताएका छन् ।

नेकपा एमाले कोशी प्रदेश र संसदीय दलको बैठकका क्रममा पत्रकारहरूसँग कुरा गर्दै पूर्वमुख्यमन्त्री राईले पार्टी नेतृत्वको निर्देशन कार्यान्वयन हुने बताएका हुन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्देशनसहित विराटनगर पठाएका थिए ।

शनिबार उनले मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन भनेका थिए । कार्कीले पार्टी कमिटीबाट निर्णय हुनुपर्ने भन्दै मानेनन् ।

पार्टीभित्रको आन्तरिक विषय र मुख्यमन्त्रीको सन्दर्भमा देखिएका जटिलताहरूलाई छिट्टै समाधान हुने सचिव राईले बताए ।

‘हामी पार्टीको कुरा, पार्टीको निर्देशन, पार्टीको आदेश बमोजिम चल्छौँ । सिङ्गो पार्टी त्यसरी चल्छ, सिङ्गो नेकपा संसदीय दल पनि त्यसरी चल्छ,’ उनले भने, ‘हामी अहिले आन्तरिक रूपमा केही जटिलताहरूका बारेमा हामी छलफल गरिरहेका छौँ । तिनको समाधान हामी चाँडै गर्छौँ र प्रदेशलाई हामी सहमतिको रूपमा अगाडि बढाउँछौं ।’

तीन बुँदे सहमति र पार्टी अध्यक्षको निर्देशन अनुसार अघि बढ्ने बताए ।

राईले वर्तमान मुख्यमन्त्रीसँग आफ्नो ३२ वर्ष लामो सहकार्य सम्बन्ध रहेकाले छलफलबाट निकास निकाल्ने बताए ।

‘हाम्रो बीचमा कुनै वैचारिक वा सैद्धान्तिक मतभेद छैन, हामीले लामो समय एउटै कमिटी र पदमा रहेर सँगै काम गरेका छौँ । म मुख्यमन्त्री हुँदा उहाँ आन्तरिक मामिला मन्त्री हुनुहुन्थ्यो, अहिले उहाँ मुख्यमन्त्री हुनुहुन्छ,’ उनले भने, ‘यो हाम्रो बीचको व्यक्तिगत समस्या वा द्वन्द्व होइन, यो पार्टीको आन्तरिक व्यवस्थापनको विषय मात्र हो ।’

वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेको र अब पनि सोही उपधारा अनुसार अघि बढ्ने उनले बताए ।

ranechhap