धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहे पनि सत्ता साझेदार दलहरूबिच मन्त्रालय बाँडफाँट र मन्त्री चयनबारे औपचारिक छलफल भने अझै सुरु भएको छैन ।
सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र मुख्यमन्त्रीदेखि मन्त्री चयनसम्मका विषयमा आन्तरिक कसरत चलिरहेका बेला सत्ता साझेदार नेकपा एमालेले भने आफूहरूसँग यसबारे कुनै औपचारिक संवाद नभएको जनाएको छ ।
नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकार गठन, मन्त्रालयको भागबन्डा तथा मन्त्री चयनका विषयमा हालसम्म कुनै छलफल नभएको स्पष्ट पारे । उनले एमालेले कुन–कुन मन्त्रालय पाउने, पार्टीका तर्फबाट को–को मन्त्री बन्ने वा मन्त्रालयको सङ्ख्या कति हुने भन्ने विषयमा कुनै निर्णय नभएको बताए ।
‘सरकार गठनका विषयमा हामीसँग अहिलेसम्म कुनै औपचारिक छलफल भएको छैन । एमालेले कुन मन्त्रालय पाउने, को मन्त्री बन्ने वा मन्त्रालय कसरी बाँडफाँट गर्ने भन्ने विषयमा पनि कुनै छलफल भएको छैन । यी सबै कुरा दलीय सहमतिका आधारमा तय हुने विषय हुन्,’ रावलले भने ।
उनले सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढेपछि मात्रै सत्ता साझेदार दलहरूबिच औपचारिक वार्ता हुने र त्यसकै आधारमा मन्त्रालयको भागबन्डा तथा मन्त्रीहरूको टुङ्गो लाग्ने बताए । अहिले बाहिर आएका विभिन्न चर्चा र अनुमानलाई आधिकारिक रूपमा लिन नहुने उनको भनाइ छ ।
यता, सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपाभित्र भने मुख्यमन्त्री र मन्त्री चयनलाई लिएर लगातार छलफल भइरहेको छ । मुख्यमन्त्रीका आकांक्षी, मन्त्रिपरिषद्को आकार, मन्त्रालयको सङ्ख्या र शक्ति सन्तुलन मिलाउने विषयमा पार्टीभित्र विभिन्न तहमा परामर्श भइरहेको बताइएको छ ।
यद्यपि सरकारमा सहकार्य गर्ने प्रमुख दल एमालेले भने हालसम्म कुनै औपचारिक प्रस्ताव वा छलफल नभएको बताएको छ । यसले सरकार गठनको तयारी तीव्र देखिए पनि सत्ता साझेदारीको मोडालिटी र मन्त्रालय बाँडफाँटको विषय अझै टुङ्गोमा नपुगेको सङ्केत गरेको छ ।






































