काठमाडौँ। नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले मुलुकमा बढ्दै गएको हिंसा, साम्प्रदायिक तनाव र राजनीतिक खिचातानीप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई जिम्मेवार बन्न र इतिहासका सफल नेताहरूबाट पाठ सिक्न आग्रह गरेका छन्।
राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले नेपाल बुद्धको भूमि भएको स्मरण गराउँदै सांसद श्रेष्ठले भने, ‘नेपाल हिमालको उचाइले मात्र होइन, विविधतालाई अङ्गाल्ने विशाल हृदयले महान् भएको हो। आजको हिंसाले कुनै एक समुदायलाई मात्र होइन, सम्पूर्ण नेपालीलाई घाइते बनाएको छ।’
उनले पुस्तौँदेखिको विश्वास र सहिष्णुतालाई केही घण्टाको उत्तेजना र झुटो सूचनाले कमजोर बनाउन नहुने बताए । सांसद श्रेष्ठले वर्तमान नेतृत्वलाई नेपाली राजनीतिका चार शिखर पुरुषहरूबाट सिक्न सुझाव दिए ।
बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप र एकताको नीति, गणेशमान सिंहको प्रधानमन्त्री पदसमेत त्याग गर्न सक्ने त्यागको भावना, कृष्णप्रसाद भट्टराईको निष्ठा, नैतिकता र सादगी तथा गिरिजाप्रसाद कोइरालाको १० वर्षको हिंसा अन्त्य गर्न वार्ता र संवादको बाटोलाई स्मरण गर्न श्रेष्ठले आग्रह गरे ।
‘अहिलेका मन्त्री र प्रधानमन्त्रीले हाम्रा अग्रजहरूले देखाएको यो त्याग, निष्ठा र संवादको बाटो पछ्याएका छन् कि छैनन् ? यदि छैनन् भने भविष्यमा गम्भीर परिणाम भोग्नुपर्नेछ,’ श्रेष्ठले भने ।
सांसद श्रेष्ठले दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको उदाहरण दिँदै बदलाको राजनीतिले राष्ट्र निर्माण नहुने बताए। मन्डेलाले आफूलाई जेलमा यातना दिने जेलरलाई समेत क्षमा दिएको प्रसङ्ग उल्लेख गर्दै भने, ‘बदलाको भावनाले मुलुक चल्दैन। क्षमा र मेलमिलाप नै राष्ट्र निर्माणको आधार हो।’
सांसद श्रेष्ठले सरकारलाई संसद्प्रति उत्तरदायी बन्न र हिजोका गल्तीहरूबाट सिक्न आग्रह गरे।






































