वि.सं.२०८३ साउन १५ शुक्रवार

मान्छे मान्छेबाट डराउनुपर्ने अवस्था देशको हितमा छैन : राजेन्द्र महतो

khanepani

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा बढ्दै गएको साम्प्रदायिक दङ्गा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतोले मधेस लगायतका क्षेत्रमा फैलिएको अशान्ति रोक्न राज्यले समयमै ठोस कदम चाल्नुपर्नेमा जोड दिएका हुन् ।

भेटका क्रममा महतोले सुनसरी र सिराहा लगायतका जिल्लामा भएका पछिल्ला घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे। शान्ति सुरक्षा कायम गर्ने क्रममा सुरक्षा निकायबाट कम्मर भन्दा माथि गोली प्रहार भएको भन्दै उनले त्यसको छानबिन र दोषीमाथि कारबाहीको माग गरे।

महतोले सरकार र आन्दोलनरत पक्षबीच भएका सम्झौताहरू विगतमा जस्तै ‘रद्दीको टोकरी’ मा नफाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। वि.सं. २०६४ सालको आठबुँदे सम्झौता लगायतका विगतका सहमतिहरू कार्यान्वयन नभएको स्मरण गराउँदै उनले वर्तमान सरकारलाई विश्वासघात नगर्न चेतावनी पनि दिए।

छलफलका क्रममा महतोले भने, ‘मान्छे मान्छेबाट डराउनुपर्ने अवस्था देश र समाजको हितमा छैन।’ उनले अगाडि थपे, ‘सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीले थप तदारुकताका साथ पहल गर्नुपर्छ।’

उनले थप स्पष्ट पार्दै भने, ‘मधेसकै जनमतका कारण वर्तमान सरकार दुई तिहाइको अवस्थामा पुगेको हो।’ उनले भने, ‘त्यसैले जनताको भावना र सङ्घीयतालाई अधिकारसम्पन्न बनाउने कुरामा सरकार गम्भीर हुनुपर्छ।’

प्रधानमन्त्रीले जनकपुरमा ‘बलियो सङ्घीयता’ निर्माण गर्ने भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई व्यवहारमा उतार्न महतोले आग्रह गरे। जवाफमा प्रधानमन्त्रीले सङ्घीयताप्रति सरकार पूर्णतः प्रतिबद्ध रहेको र यसलाई कमजोर पार्ने कुनै पनि सोच नभएको स्पष्ट पारेको जानकारी महतोले दिए।

प्रधानमन्त्रीले सुनसरी घटनाबारे छानबिन समिति गठन भइसकेको र त्यसको प्रतिवेदन आएपछि दोषीमाथि कारबाही गरिने आश्वासन दिएका छन्। साथै साम्प्रदायिक दङ्गा फैलाएर अनुचित लाभ लिन खोज्ने तत्वहरूबाट सतर्क रहन र प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अघि बढ्न प्रधानमन्त्रीले आग्रह गरेका थिए।

ranechhap