वि.सं.२०८३ साउन १५ शुक्रवार

मधेसी नेताहरूले प्रधानमन्त्रीलाई भने, ‘द्वन्द्व समाधानका लागि सङ्घीयता बलियो बनाउनुस्’

khanepani

काठमाडौँ । मधेस केन्द्रित दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेर मधेसमा जारी द्वन्द्वकाे विषयमा छलफल गरेका छन् । शुक्रबार उनीहरूले मधेसमा जारी द्वन्द्व समाधान गर्नका लागि सरकारले तत्कालै पहल गर्नुपर्ने सुझाव दिएका हुन् ।

सुनसरीमा भएको घटना बिस्तारै मधेसभर फैलिएको र तत्कालै त्यसलाई नियन्त्रणमा लिन नसकिए यसले भयावह रूप लिन सक्नेतिर पनि प्रधानमन्त्री बालेनलाई उनीहरूले सचेत गराएका छन् ।

प्रधानमन्त्रीले चुनावको बेला सङ्घीयतालाई बलियो बनाउने कुरा गरेको तर चुनावपछि जनताको अपेक्षाको पुरा नभएका कारण पनि यो आक्रोश देखिएको बताएका छन् । छलफलपछि पत्रकारसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले सुनसरीमा भएको घटना तथा सङ्घीयता लगायतको विषयमा छलफल भएको बताए ।

प्रधानमन्त्री बालेनसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै उनले सरकार द्वन्द्व समाधानतिर गएको आफूहरूले पाएको बताए । तर यसको दीर्घकालीन समाधानतिर लाग्नुपर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री कार्यालयमा एउटा टिम बनाएर राख्न र जुन ठाउँमा समस्या देखिन्छ त्यहाँ तत्काल समाधान गर्नका लागि जानुपर्ने सुझाव आफूहरूले दिएको बताए ।

‘सुरक्षाकर्मीहरू आक्रोशित देखिएका छन्, त्यसले झन् अवस्था उत्तेजित भएको अवस्था छ’ उनले भने । बैठकमा आफूहरूले यो विषयमा पनि छलफल गरेको बताए । अन्तर धार्मिक समितिहरू बनाउन र उनीहरूसँग नियमित छलफलहरू गरिरहनुपर्ने सुझाव पनि आफूहरूले दिएको उनले बताए । उनले सरकारी षड्यन्त्रका कारणले पनि यी घटनाहरू भइरहेको आशङ्का भएको बताए ।

उनले भने– ‘सुनसरीमा बत्ती किन काटियो ?, पाँच दिनसम्म लास किन राखियो ?, सुरक्षाकर्मीको पहिला नै किन सरुवा भयो ?, तुरुन्तै नेपाली सेना किन परिचालन भयो ? यी कुराले आशङ्का जन्माएको छ’ उनले भने । उनले ३० लाख भन्दा बढी नेपालीहरू मुस्लिम देशमा कार्यरत रहेका र उनीहरूमाथि दुर्व्यवहार भयो भने के हुन्छ भन्दै प्रश्न समेत गरे । सरकार यसमा पनि गम्भीर हुनुपर्ने राउतले बताए ।

सरकारलाई आफूहरूले यी विषयमा सचेत गराएको हो भन्दै उनले बहुमतको सरकारले काम गर्न सकेन भने अरू कसैले गर्न नसक्ने बताए ।

सङ्घीयतालाई बलियो बनाउने काम पनि सरकारले गर्नुपर्ने उनले बताए । मधेसवादी दलका नेताहरूले हिजो सामूहिक बैठक बसेर मधेसमा देखिएको द्वन्द्व समाधानका लागि सरकारसँग माग गरेका थिए । त्यसपछि उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए । आज उनीहरूले सोही विषयलाई लिएर प्रधानमन्त्री बालेनसँग छलफल गरेका हुन् ।

ranechhap