वि.सं.२०८३ साउन १६ शनिवार

आज साउन १५: सांस्कृतिक र स्वास्थ्यवर्द्धक परम्परा ‘खीर दिवस’ मनाइँदै

khanepani

काठमाडौँ। नेपाली समाजमा आज (साउन १५ गते) परम्परागत रूपमा खीर खाएर उत्सवका रूपमा मनाइँदै छ। वर्षा ऋतुको हिलो-मैलो र असारको चटारोपछि साउन १५ मा खीर र असार १५ मा दही-च्युरा खाने प्राचीनकालदेखिको लौकिक परम्परा रहिआएको छ।

साउने झरी र चिसो मौसममा तातो, पोषिलो र मरमसलायुक्त खीरको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ। गाउँघरमा असारसमेतको खेतीपाती सकिने, हरियाली बढेर गाई-भैँसीले प्रशस्त दूध दिने भएकाले यस समयमा इष्टमित्र तथा छोरी-चेलीलाई बोलाएर खीर खुवाउने सांस्कृतिक चलन बस्न गएको हो।

संस्कृत भाषामा ‘पायस’ भनिने खीरलाई सात्विक र उत्तम आहार मानिन्छ। धार्मिक मान्यताअनुसार साउन भगवान् शिवको प्रिय महिना भएकाले दूध तथा दूधबाट बनेका परिकार शिवलाई अर्पण गर्ने गरिन्छ। साथै, वैदिक सनातन धर्ममा ऋषिमुनिको पालादेखि नै श्राद्ध तथा पितृकार्यमा ब्राह्मण र पितृहरूलाई गाईको दूधमा पकाएको पायस (खीर) चढाउने र खुवाउने परम्परा रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

नेपाली बृहत् शब्दकोष र आयुर्वेदमा समेत खीरलाई प्राचीन एवं स्वादिष्ट खाद्य पदार्थका रूपमा परिभाषित गरिएको छ। संस्कृतको ‘क्षीर’ शब्दबाट रूपान्तरित भई ‘खीर’ बनेको हो, जसको अर्थ दूध र अन्नको मिश्रण भन्ने हुन्छ। रोमन सभ्यतामा समेत यस प्रकारको भोजन सेवन गर्ने चलन रहेको इतिहास छ।

नेपाली समाजमा मौसमअनुसार साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ-खट्टे र माघ १५ मा मालपुवा जस्ता परिकार बनाएर आफन्तजनसँग खुसी साट्ने मौलिक परम्परा रहँदै आएको छ।

ranechhap