काठमाडौँ। मधेश र कोशी प्रदेशका जिल्लाहरूमा हिंसात्मक घटना बढ्दै गएपछि आलोचना खेपिरहेका गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज गाउँपालिका पुगेका छन्। बिहीबार राति साढे ११ बजे देवानगञ्ज पुगेका उनले स्थानीय सामाजिक अगुवाहरूसँग छलफल गरेका छन्।
गृहमन्त्री गुरुङ देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज गाउँ जाने र त्यहाँ प्रहरीको गोली लागेर मृत्यु भएका सर्वसाधारणका परिवारसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ।
कप्तानगञ्जमा प्रहरीको गोलीबाट सर्वसाधारणको मृत्यु भएपछि उत्पन्न तनाव साम्य पार्न आयोजना गरिएका अघिल्ला बैठकहरूमा सहभागीहरूले गृहमन्त्री स्वयंको उपस्थितिको माग गरेका थिए। तर, सो समयमा उनले आफ्ना निजी सचिव (पीए) लाई मात्र पठाएपछि मन्त्रीको कार्यशैलीलाई लिएर तीव्र आलोचना भएको थियो।
सरकारले समयमै स्थिति नियन्त्रणमा लिन नसक्दा हिंसा अन्य जिल्लाहरूमा समेत फैलिएको भन्दै गृहमन्त्रीको राजीनामा समेत माग भइरहेको छ। क्षेत्रीय तनाव तीव्र बन्दै गएको र आफ्नै कार्यशैलीमाथि चौतर्फी प्रश्न उठेको पृष्ठभूमिमा गृहमन्त्री गुरुङ परिस्थितिलाई साम्य पार्न बिहीबार सुनसरी पुगेका हुन्।





































