वि.सं.२०८३ साउन १४ बिहीवार

देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहको सम्बोधन (पूर्णपाठ)

khanepani

सुनसरी घटनापछि पूर्वी तराई–मधेशका जिल्लामा देखिएको समस्याबारे प्रधानमन्त्री बालेन शाहले आज देशबासीका नाममा सम्बोधन गरेका छन् । उनको भिडिओ सम्बोधन भर्खरै फेसबुकमार्फत सार्वजनिक भएको छ ।

प्रस्तुत छ, प्रधानमन्त्री बालेनले गरेको सम्बोधनको पूर्णपाठ:

नमस्कार,

आदरणीय बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरू!

म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईँहरूसामू उपस्थित भएको छु ।

केही दिनअघि सुनसरीको देवानगञ्ज, सिराहालगायतका स्थानमा भएको दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ ।

यस दुःखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, शोकसन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछु ।

घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमीकमजोरी हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइएको छ ।

घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति-सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन् ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ । म सबैमा विश्वास दिलाउन चाहन्छु— यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जोकोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।

अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ ।

परिस्थिति सामान्यीकरण गर्न केन्द्रस्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ ।

स्थानीय तहसमेतका जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ ।

स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति-सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं घटनास्थलमा पुगिसक्नुभएको छ ।

साथै, देशको समग्र शान्ति-सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ ।

यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गर्दछु ।

साथै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु। प्रत्येक नागरिकको जिउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो ।

आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिनेछन् । शान्ति-सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिनेछन् ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आ-आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ । यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ ।

धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो । संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन । सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो । देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन ।

आदरणीय बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरू!

हाम्रो इतिहास साक्षी छ— कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन् । हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ ।

हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदायक आदरणीय अगुवा सब, राजनीतिक दल आ जिम्मेवार सञ्चार माध्यमसभके धैर्यता आ संयमता अपनाके शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राखेक लेल सरकारक तरफसो हार्दिक अपील करैछी ।

धन्यवाद ।

ranechhap