मकवानपुर । बागमती सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वास मत लिने भएका छन्। एमाले कांग्रेसको सत्ता गठबन्धन टुटेसँगै अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिएर अघि बढ्न भएका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बिहीबार प्रदेश सुशासन केन्द्र ललितपुरमा बसेको बैठकले मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने निर्णय गरेको हो ।
वर्तमान सरकारलाई निरन्तरता दिन र समर्थन प्राप्त गर्न अन्य दलहरूसँग छलफल गर्ने बैठकले निर्णय गरेको छ । बैठकले सरकारका लागि आवश्यक अन्य राजनीतिक दलहरूसँग समन्वय र संवाद अगाडि बढाउने निर्णय गरेको संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।
उनका अनुसार सत्ता साझेदार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिएपछि उत्पन्न राजनीतिक परिस्थितिकाबिच कांग्रेसले सरकारको निरन्तरताका लागि उक्त निर्णय गरेको हो।
सचिव महर्जनका अनुसार, दलका नेता एवम् मुख्यमन्त्री बानियाँको नेतृत्वमा बसेको बैठकले सरकारको निरन्तरताका लागि प्रदेशसभामा रहेका सबै राजनीतिक दलहरूसँग लिखित वा मौखिक संवाद गर्ने जिम्मेवारी बानियाँलाई नै सुम्पेको छ।
बैठकले कांग्रेस नेता पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। उनको सम्मानमा बैठकमा एक मिनेट मौन धारण गरिएको थियो। कांग्रेसले उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको ठहर गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको सचिव महर्जनले जानकारी दिए ।
बैठकले कोशी प्रदेशको सुनसरी जिल्लास्थित देवानगञ्जको कप्तानगञ्जमा भएको दुःखद घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै दलले थप हिंसा हुन नदिन र धार्मिक-सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई धैर्य र संयम रहन अपिल गरेको छ।
बैठकले बागमती प्रदेश सरकारलाई पनि सङ्घीय सरकारसँग आवश्यक समन्वय गरी प्रदेशभित्र शान्ति सुरक्षा र सद्भाव कायम राख्न निर्देशन दिएको छ। संवादको माध्यमबाटै समस्याको समाधान खोज्न र परिस्थिति थप बिग्रन नदिन सरकारले सक्रिय भूमिका खेल्नुपर्नेमा कांग्रेसले जोड दिएको छ।
बैठकमा पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा, रामकृष्ण चित्रकार लगायत संसदीय दलका सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो।






































