काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले मिडिया हाउस र प्रतिपक्षी दलका नेताको घरअगाडि शङ्कास्पद रूपमा राखिएको गाडी गृहमन्त्रीले नै प्रयोग गरेर राजनीतिक कार्यक्रममा गएको विषयमा सरकारसँग जवाफ मागेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले यस घटनालाई स्वतन्त्र अभिव्यक्ति र लोकतन्त्रमाथिको गम्भीर प्रहारका रूपमा टिप्पणी गरे ।
सांसद कार्कीले केही समय अघि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको घरअगाडि र प्रमुख सञ्चार गृहको गेटमा शङ्कास्पद तरिकाले गाडी पार्किङ गरिएको उल्लेख गरे ।
‘ती गाडी क्रेनको सहायताले उठाइयो, साँझ समाचार आयो ५ सय चिट काटेर सवारी धनीलाई जिम्मा लगाइयो,’ कार्कीले भने, ‘तर अहिले पुनः सुनिँदै छ, सञ्चार माध्यमको अगाडि राखिएका ती गाडी सरकारकै जिम्मेवार गृहमन्त्री चढेर रास्वपाको चितवन महाधिवेशनमा गएका छन्।’
उनले थप प्रश्न गर्दै भने, ‘सरकार के गर्न खोज्दैछ ? स्टन्ट र नागरिकलाई दुःख दिएर प्रश्नहरू बन्द गर्न खोजिएको हो ? प्रश्न उठ्न नदिन र संयमता नअपनाई सरकार किन यस्ता हर्कतमा उत्रिँदैछ ।’
कार्कीले यो केवल गाडी पार्किङको सामान्य विषय नभई स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने योजनाबद्ध प्रहार भएको दाबी गरे ।
‘हामीले लडेर ल्याएको प्रश्न गर्ने हकमाथि दायाँबायाँ गर्न खोजिए हामीलाई किमार्थ स्वीकार्य हुँदैन,’ उनले भने, ‘लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासनमाथि सरकार आफैँ किन खनिँदैछ ? यसको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गरियोस्।’






































