काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य सचेतक युवराज दुलालले पुस्तौँदेखि जमिन जोत्दै आएका‘ भूमिपुत्र’ र भूमिहीन किसानहरूको समस्या समाधानका लागि सरकारले अविलम्ब गुठी विधेयक ल्याउन माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारकाे बैठकमा विशेष समय लिएर बोल्दै दुलालले ऐतिहासिक र धार्मिक सम्पदाको संरक्षणसँगै जोताहा किसानको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
दुलालले गुठी स्थापना हुनु भन्दा सयौँ वर्ष अघिदेखि नै जमिन आवाद गर्दै आएका किसानहरू आज आफ्नै थातथलोमा असुरक्षित रहेको बताए ।
‘जसले गुठी स्थापना हुनु भन्दा अगाडिदेखि जमिन जोतेर बस्ती बसाए, उनीहरू नै आज मोहीका रूपमा प्रताडित छन्’ उनले भने, ‘राज्यले ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्छ, तर भू(माफियाको नजरमा परेका र किसानले भोगचलन गरिरहेका जमिनको समस्यालाई कानुन बनाएरै टुङ्ग्याउनुपर्छ।’
दुलालले सिन्धुपाल्चोकको फटकशिला क्षेत्रको उदाहरण दिँदै १८५६ सालमा रणबहादुर शाहले झण्डै १२०० रोपनी जग्गा पशुपति महास्नानका लागि गुठी घोषणा गरेपछि त्यहाँका किसानहरू कसरी मारमा परे भन्ने बेलिबिस्तार लगाए । उनका अनुसार, विगतमा ९६ जना किसानले बिना ज्याला भारी बोकेर पशुपतिसम्म सामान पुर्याउनुपर्ने र कडा कर तिर्नुपर्ने बाध्यता थियो।
‘आज पशुपतिमा महास्नान पर्व चल्दैन, तर त्यो गुठी अझै कायम छ। किसानले न त्यो जग्गा बैंकमा राखेर ऋण लिन पाउँछन्, न त स्वामित्व नै प्राप्त गरेका छन्,’ दुलालले भने, ‘सिन्धुपाल्चोकमा मात्रै १४७ प्रकारका गुठी छन्, जसका कारण २२ हजार घरधुरी र करिब डेढ लाख रोपनी जग्गा प्रत्यक्ष प्रभावित छ।’
संसद्मा आक्रोशपूर्ण शैलीमा उनले मन्त्री र सांसदहरूलाई प्रश्न गरे – ‘यदि ती पीडित किसान हामी नै हुन्थ्यौँ भने हाम्रो पीडा कस्तो हुन्थ्यो होला ? सरकारले सर्वदलीय र सर्वपक्षीय परामर्श गरेर अविलम्ब गुठी विधेयक संसद्मा ल्याउनुपर्छ।’
गुठी समस्याका अतिरिक्त दुलालले किसानहरूले भोग्नुपरेको बाँदर आतङ्क र रासायनिक मलको अभावबारे पनि सरकारको ध्यानाकर्षण गराए । बाँदर नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सन्धि र कानुनको परिधिभित्र रहेर ठोस कदम चाल्न उनले आग्रह गरे ।






































