काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वस्वास्थ्य विज्ञ सल्लाहकार डा.सुवास प्याकुरेलले स्वास्थ्य बीमा बोर्डको नेतृत्व गर्ने जिम्मा पाएका छन् । आज बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डा.प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
गत असार ३० गते उम्मेदवार सिफारिस गर्न गठित समितिले अध्यक्षका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको थियो । जसमा प्याकुरेलसहित निजन उपाध्याय, महेश सुवेदी, सुमनचन्द्र गुरुङ र सिमृन काफ्लेसहित पाँच जना अन्तर्वार्तामा सहभागी भएका थिए ।
स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको छनौट, सिफारिस र नियुक्ति सम्बन्धी कार्यविधि, २०८३ जारी गरेको थियो । कार्यविधि अनुसार अध्यक्षका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्ष अनुभव भएको हुनुपर्ने उल्लेख छ ।
मेरिटोक्रेसीको नारा दिएको रास्वपाले स्वास्थ्य बीमा बोर्डको नेतृत्व चयनमा अन्ततः आफ्नै दलका पूर्वस्वास्थ्य विज्ञ सल्लाहकार डा.प्याकुरेललाई रोजेर राजनीतिक भागबन्डाकै निरन्तरता भन्दै अलाेचना भएको छ । डा.प्याकुरेललाई नयाँ कार्यविधिको प्रक्रिया पूरा गराइए पनि प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै दलीय पहुँचकै आधारमा नियुक्त गरिएको भन्दै मेरिटोक्रेसीको निष्पक्षतामाथि प्रश्न उठेको छ ।
झन्डै ३८ लाख नागरिकले बीमा नवीकरण नगरेर बोर्ड संकटग्रस्त बनेको संवेदनशील मोडमा निष्पक्ष र स्वतन्त्र विज्ञभन्दा दलको निकटताले प्राथमिकता पाउँदा, रास्वपाको चुनावी प्रतिबद्धता र व्यावहारिक निर्णयबिचको अन्तर प्रस्ट पार्दै नवनियुक्त अध्यक्षसामु जनविश्वास जित्ने चुनौती खडा भएको छ ।
पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रम संकटबाट गुज्रिएको छ । स्वास्थ्य बीमा नवीकरण नगर्नेको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । बोर्डका अनुसार झन्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण नगरेको देखिएको हो । बोर्डका अनुसार ४० प्रतिशतले स्वास्थ्य बीमा नवीकरण गरेका छैनन् ।
२०७२ चैत २५ गते कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । देशभर ४२५ वटा प्रथम सेवा विन्दु स्वास्थ्य संस्था तोकिएका छन् । स्वास्थ्य बिमा नवीकरण गर्नेको सङ्ख्या वृद्धि गर्ने र अस्पतालमा बीमाको दायरा बढाउने चुनौती विद्यमान छ ।
वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय स्वास्थ्य सेवा तथा प्रत्येक नागरिकको पहुँच सुनिश्चित हुने गरी विस्तार गर्ने लक्ष्य राखेको छ । स्वास्थ्यसँग सम्बन्धित सबै सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणाली मार्फत व्यवस्थित गर्दै औषधी, उपचार तथा सेवाहरू, मानसिक स्वास्थ्य समेत स्वास्थ्य बीमा कार्यक्रम भित्र समेटिने गरी स्वास्थ्य क्षेत्रमा नेपाल सरकारको मुख्य प्राथमिकताको कार्यक्रमको रूपमा अघि बढाउने सत्तापक्ष दल रास्वपाको घोषणापत्रमा उल्लेख छ ।






































