रौतहट । बाराको कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीस्थित भित्री सडकमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु भएको छ।
आज बिहान करिब ८ः२५ बजे भवानीपुरबाट ब्रह्मपुरीतर्फ जाँदै गरेको ना ४५ प २१७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–३ निवासी अजित मन्सुरका १५ वर्षीय छोरा सोयब मन्सुर गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते सोयबलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा बिहान करिब ९ बजे चिकित्सकले मृत घोषणा गरेको बारा प्रहरीका प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही स्थानका साबिर हुसेन अन्सारीका १५ वर्षीय छोरा साहिद अन्सारी सामान्य घाइते भएका छन्। उनको हातमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि अस्थायी प्रहरी पोस्ट गंगापुरबाट असई मोहम्मद हुसेन देवानको कमान्डमा प्रहरी टोली खटिएको थियो। मृतकको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।






































