भक्तपुर । साउन महिनाको दोस्रो सोमबार भक्तपुर जिल्लाको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा आराधनाका लागि व्रतालु र श्रद्धालुको उल्लेखनीय भीड लागेको छ।
भगवान् शिवको प्रिय महिना मानिने साउन र सोमबार शिवजीको विशेष दिन भएकाले बिहानैदेखि भक्तजनहरू जल, दूध, बेलपत्र तथा अन्य पूजासामग्री चढाएर पूजा–आराधनामा सहभागी भएका छन्। हिन्दू धर्मावलम्बीहरूले यस दिन व्रत बसेर आशुतोष भगवान् शिवको आराधना गर्ने परम्परा रहि आएको छ ।
नेपालमा सौरमास अनुसारका सोमबारमा साउने व्रत बस्ने चलन रहेको छ। भक्तपुरको सिपाडोलमा अवस्थित डोलेश्वर महादेव मन्दिर प्रसिद्ध हिन्दू तीर्थस्थलका रूपमा परिचित छ। धार्मिक मान्यताअनुसार यस मन्दिरलाई भारतको प्रसिद्ध केदारनाथ मन्दिरको शिर भाग मानिन्छ, जसका कारण साउन महिनामा यहाँ देशभरबाट हजारौँ श्रद्धालु दर्शनका लागि पुग्ने गर्छन्।







































