काठमाडौं । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ ।
सीडीएस एन्ड क्लियरिङले सार्वजनिक सूचना जारी गर्दै १५ गतेभित्र वार्षिक शुल्क नबुझाएका डिम्याट खाता १६ गतेदेखि रोक्का राख्ने व्यवस्था गरिएको स्पष्ट पारेको छ । डिम्याट खाता रोक्का भएमा सेयर कारोबार गर्न पाइँदैन ।
हरेक वर्षको असार मसान्तभित्र बुझाइसक्नुपर्ने यस्तो वार्षिक शुल्क यस पटक साउनको मध्यसम्म थप गरिएको हो । हरेक वर्ष डिम्याट खाता हुनेले १ सय रुपैयाँ शुल्क बुझाउनुपर्दछ । हाल डिम्याट खाताको संख्या ८० लाख ९ हजार ६२३ पुगेको छ ।
साथै हरेक वर्ष मेरो सेयरका लागि ५० रुपैयाँ शुल्क बुझाउनुपर्दछ । सो रकम पनि बुझाउन सीडीएससीले आग्रह गरेको छ । सीडीएससीका अनुसार हाल मेरो सेयरमा सक्रिय खाता संख्या ५१ लाख ४८ हजार ८९४ रहेको छ ।
अनलाइन प्रणालीबाटै आईपीओ तथा एफपीओ, हकप्रद सेयर भर्नका लागि मेरोसेयर प्रयोग हुने गर्छ । साथै दोस्रो बजारमा बिक्री भएको सेयर हस्तान्तरण पनि यसैबाट हुने गर्दछ ।
अनलाइनबाटै यसरी तिर्नुहोस् रकम
घरमै बसेर अनलाइन प्रणाली मेरो सेयर तथा भुक्तानीका विभिन्न माध्यममार्फत डिम्याट खाता नवीकरण गर्न सकिन्छ ।
पहिले मेरो सेयर ‘लगइन’ गर्नुहोस् । मेरो सेयर खुलिसकेपछि दायाँ साइडमा माथि भएको आफ्नो नाममा क्लिक गर्नुहोस् । ‘एकाउन्ट इन्फर्मेसन’मा रहेको ‘रिन्यू एकाउन्ट’मा क्लिक गर्नुहोस् । त्यसपछि भुक्तानीका माध्यम इसेवा, खल्ती, प्रभु पे, आईएमई पे, एनसीएचएल (कनेक्ट आईपीएस) देखा पर्दछ ।
जुन माध्यमबाट भुक्तानी गर्न चाहेको हो, त्यसमै क्लिक गर्नुहोस् । मेरोसेयर र डिम्याट दुवै नवीकरण, मेरो सेयर वा डिम्याट नवीकरणमध्ये एक छनोट गर्नुहोस् । मेरो सेयर पनि बर्सेनि नवीकरण गर्नुपर्ने भएकाले नवीकरण नगरेकाले ‘मेरो सेयर एण्ड डिम्याट’ क्लिक गर्नुहोस् ।
‘प्रोसिड’ मा क्लिक गरी भुक्तानी माध्यमको युजर नेम तथा पासवर्ड प्रयोग गरी लगइन गर्नुहोस् । भुक्तानी माध्यम (इसेवा, खल्ती, प्रभु पे, आईएमई पे, एनसीएचएल) लगइनपछि रकम ‘पे’ वा ‘सबमिट’ गर्नुहोस् ।




































