वि.सं.२०८३ साउन १० आइतवार

केन्द्रका नेताको हस्तक्षेपले प्रदेश सरकार अस्थिर बन्यो : भीम पराजुली

khanepani

विराटनगर । कोशी सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रदेश सरकारको नेतृत्व र निर्णय प्रक्रियामा केन्द्रका नेताको हस्तक्षेपले राजनीतिक अस्थिरता बढेको बताएका छन् ।

इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले प्रदेश सरकारलाई निर्णय स्वायत्तता नदिँदा संघीयताको वास्तविक मर्म नै कमजोर भएको बताए । प्रदेश सरकार गठन र नेतृत्व परिवर्तनको निर्णय अझै पनि संघीय नेतृत्वले गरिरहेको भन्दै पराजुलीले असन्तुष्टि जनाए ।

उनले भने, ‘अहिले पनि प्रदेश सरकार बन्ने निर्णय संघीय नेतृत्व तहले गरिरहेको छ । प्रदेश सरकारले आफ्नो काम आफैँ गर्न पाइरहेको छैन । यो सरकार आफ्नो खुट्टामा उभिन नसकेको भान जनतामा परेको छ ।’

कोशी प्रदेशको निर्णय कोशीकै नेतृत्वलाई र मधेशको निर्णय मधेशकै नेतृत्वलाई सुम्पिनुपर्ने बताउँदै मन्त्री पराजुलीले प्रदेश सरकारको आयु कहिले १५ दिन, कहिले एक महिना त कहिले एक वर्ष मात्र हुँदा दिगो विकासको लक्ष्य हासिल गर्न नसकिएको बताए ।

उनले भने, ‘एउटा सरकारले बजेट ल्याउने र त्यो कार्यान्वयन नहुँदै सरकार ढल्ने, अनि अर्को सरकार आएर पूरक बजेट ल्याउने परिपाटीले समस्या निम्तिएको छ ।’

अस्थिरताले गर्दा जनतामा प्रदेश सरकारप्रति वितृष्णा जाग्ने खतरा बढेको पराजुलीको भनाइ छ । सङ्घीयतालाई बलियो बनाउन संघ सरकारले आवश्यक ऐनहरू छिटो बनाइदिनुपर्ने र प्रदेशलाई आफ्नो निर्णय आफैँ गर्ने अधिकार दिनुपर्ने उनको माग छ ।

ranechhap