वि.सं.२०८३ साउन ६ बुधवार

दार्चुलाबाट डा.गोविन्द केसीले भने, ‘माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु’

khanepani

काठमाडौँ । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले भोलि (बिहीबार)देखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् ।

दार्चुलाबाट आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना मागहरूप्रति देखाएको संवेदनहीनता र बेवास्ताका कारण डा.केसीले २२ औँ पटकको अनशन बस्ने घोषणा गरेका हुन् ।

यस अघि सरकारलाई माग सम्बोधनका लागि साउन ५ गतेसम्मको समयसीमा दिइएको भए पनि कुनै सुनुवाइ नभएपछि अनशन सुरु गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । यसबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवारी वर्तमान सरकारले नै लिनुपर्ने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध गैरनाफामूलक सार्वजनिक क्षेत्र हुनुपर्नेमा जोड दिँदै ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ ले २०८५ सालभित्र यस क्षेत्रलाई पूर्ण गैरनाफामूलक बनाउने मार्गचित्र तय गरेपनि सरकारले कार्यान्वयनमा कुनै तत्परता नदेखाएको आरोप लगाइएको छ ।

त्यसैगरी, मापदण्डविपरीत निजी मेडिकल कलेजहरूमा सशुल्क सिट वृद्धि गर्ने र छात्रवृत्ति कटौती गर्ने सरकारी नीतिको कडा विरोध गरिएको छ । यस्तो कदमले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्था डाक्टरविहीन हुने, विपन्न विद्यार्थीहरू अध्ययनबाट वञ्चित हुने र चिकित्सा शिक्षा आयोग जस्ता नियामक निकायहरूमा स्वार्थ बाझिने व्यक्तिहरूलाई नेतृत्व सुम्पिने प्रयास भइरहेको भन्दै आपत्ति जनाइएको छ ।

साथै, गेटास्थित ‘शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय’ मा स्वार्थपरक ढङ्गले नियुक्ति गरिएको र स्थापित संस्थाहरूलाई पन्छाएर व्यापारिक तथा राजनीतिक स्वार्थ पूर्ति गर्न खोजिएको डा. केसीको ठहर छ । उनले विवादित नियुक्तिहरू तत्काल बदर गर्न, सिट वृद्धि र छात्रवृत्ति कटौतीको निर्णय खारेज गर्न, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रमा पूर्वाधार विस्तार गर्न र विगतका सहमतिहरू कार्यान्वयन गर्न माग गरेका छन् ।

यसका अतिरिक्त, २०८२ भदौमा भएका हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न र २०४६ सालयता उच्च पदस्थ राजनीतिज्ञ एवं पदाधिकारीहरूले गरेका भ्रष्टाचारको निष्पक्ष छानबिन गरी कारबाही गर्नसमेत माग गरे ।

ranechhap