काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले ५० युनिट भन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत घिसिङले निजी शिक्षण संस्था र निजी स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क फिर्ता लिने प्रधानमन्त्रीको घोषणा स्वागतयोग्य भएको भन्दै यस्तो माग गरेका हुन् ।
उपभोक्तामाथि लगाइएको ५ प्रतिशत भ्याटले स्वदेशमै उत्पादन भएको विद्युतको खपतलाई निरुत्साहित गर्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ ।
उनले भने, ‘स्वदेशी स्वच्छ ऊर्जाको अधिकतम उपयोग गर्दै आयातित इन्धनमाथिको निर्भरता घटाउने राष्ट्रिय लक्ष्यसँग यस्तो व्यवस्था कदापि मेल खाँदैन। तसर्थ, शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्कलाई कानुनी रूपमा तत्काल खारेज गरी, विद्युत् खपतमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर पनि फिर्ता लिन नेपाल सरकारसमक्ष हार्दिक आग्रह तथा गम्भीर ध्यानाकर्षण गराउँदछु।’
निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत स्वास्थ्य समता शुल्क लगाउने निर्णयप्रति सरकारको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले उक्त निर्णय फिर्ता लिएको घोषणा गरेका थिए ।
उक्त घोषणा स्वागतयोग्य कदम भएको भन्दै घिसिङले अब यो घोषणा सामाजिक सञ्जालमा मात्र सीमित नराखी आवश्यक कानुनी प्रक्रिया पूरा गरी तत्काल कार्यान्वयनमा ल्याउन समेत माग गरे ।






































