तनहुँ । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिक बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य १४ यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार दिउँसो करिब ३ः१५ बजे कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा चालक व्यास नगरपालिका–२ निवासी २६ वर्षीय शम्शेर परियार चालक सिटमै च्यापिएका थिए। प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १७ जनाको टोलीले उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको प्रहरीले जनाएको छ। उनको बायाँ खुट्टा, छाती, घाँटी र टाउकोमा चोट लागेको छ भने अवस्था गम्भीर रहेको छ।
बसमा करिब २५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। दुर्घटनामा घाइते भएका अन्य यात्रुको रत्नहरी अस्पताल तनहुँमा उपचार भइरहेको छ।
घाइते हुनेमा व्यास–४ की ६० वर्षीया श्रीमाया परियार, लमजुङको मध्यनेपाल नगरपालिका–१ की ३५ वर्षीया शान्ता गौतम, मध्यनेपाल–४ की ३२ वर्षीया निरा गौतम, २९ वर्षीया सुस्मिता साही, व्यास–११ थुम्कीकी ६० वर्षीया चन्द्रमाया गुरुङ, व्यास–२ की ४७ वर्षीया अनिता गुरुङ, ४९ वर्षीया बिन्दु गुरुङ, कास्कीको रूपा गाउँपालिका–१ की ५० वर्षीया स्वस्तिकला खनाल, व्यास–६ की २७ वर्षीया सुजिता पौडेल, व्यास–१ की ८ वर्षीया सान्भि गिरि, ४० वर्षीया दिपा खान, ५१ वर्षीया सिता नेपाली, ३५ वर्षीया हिरा मल्ल र ४४ वर्षीया नुनिमाया थापा रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।






































