मकवानपुर । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले मङ्गलबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका छन्। एमालेले केन्द्रको निर्देशन अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ समक्ष राजीनामा बुझाउने तयारी गरेका हुन् ।
सोमबार (हिजो) काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको थियो । तर आज केन्द्रको निर्देशन बमोजिम नै राजीनामा दिन लागिएको स्वास्थ्य मन्त्री किरण थापा मगरले बताए ।
उनका अनुसार आजै एमालेका ६ जना मन्त्रीहरूले मुख्यमन्त्री बानियाँलाई राजीनामा बुझाउनेछन् । साथै, प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइने उनले बताए ।
‘हामीले राजीनामा गर्ने निश्चित भएको हो । अबको केहीबेरमा राजीनामा दिँदै छौँ । हामी त्यसैको तयारीमा छौँ । संसदीय दलको समन्वयमा राजीनामा बुझाउने तयारी भएको छ,’ उनले भने ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार एमालेका मन्त्रीहरूले आज नै राजीनामा गर्ने तयारी भएको छ । सोही अनुसार मुख्यमन्त्री बानियाँसँग समन्वय भएको उनले बताए । प्रदेश सुशासन केन्द्र जावलाखेलमा भेटेर राजीनामा बुझाउने गरी समन्वय भएको उनले बताए । पार्टी केन्द्रको निर्देशन अनुसार नै मन्त्रीहरूले राजीनामा गरेर सरकारबाट अलग हुने तयारी भएको उनले बताए ।
नयाँ सरकार गठन बारे केन्द्रबाट निर्देशन भए अनुसार अघि बढ्ने तयारी रहेको उनको भनाई छ । पार्टी केन्द्रले आगामी सरकारको गठबन्धनको विष टुङ्ग्याइसकेको र त्यसको जानकारी आउन बाँकी रहेको उनले बताए ।
यता मुख्यमन्त्री बानियाँले एमालेका मन्त्रीहरूको राजीनामा आउने जानकारी पाएर सुशासन केन्द्र जावलाखेल जाँदै गरेको बताए । सरकारबाट अलग हुने गरी मन्त्रीहरूको राजीनामा दिने जानकारी पाएकाले केही बेरमा सुशासन केन्द्रमा भेट हुने उनको भनाई छ ।
बागमती प्रदेशमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमालेका ६ जना मन्त्री सहभागी छन् । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै प्रदेश सरकारले साउन १ गतेदेखि १४ मन्त्रालयलाई घटाएर ८ मन्त्रालय कायम गरेको थियो । मन्त्रालय पुनर्संरचनापछि कार्यविभाजन फेरबदल गरिए पनि सत्ता गठबन्धन भने लामो समय टिक्न सकेन ।
मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकारमा एमालेबाट डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा मगर र बिन्दु श्रेष्ठ सहभागी छन् ।
वर्तमान सरकारमा मन्त्री डा. देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय, मन्त्री पौडेलले कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालय, मन्त्री श्रेष्ठले उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् भने मन्त्री थापा, मन्त्री मगर र मन्त्री केसी विना विभागीय रहेका छन् ।






































