एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा लोकसभाका प्रतिपक्ष नेता राहुल गान्धीले कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनमा सहभागी विद्यार्थीमाथि भएको कुटपिटको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै गान्धीले सरकारले विद्यार्थीसँग सम्बन्धित विषयमा संसदमा छलफल गराउनबाट बच्न खोजेको आरोप लगाए।
उनले भने, ‘हामीले लोकसभा सभामुखसँग भेटेर विद्यार्थीका विषयमा संसदमा छलफल गराउन माग गरेका थियौं। तर सभामुखले त्यसका लागि सरकारबाट अनुमति लिनुपर्ने बताउनु भयो।’
राहुलले विद्यार्थीमाथिको बल प्रयोगलाई गम्भीर विषय भएको भन्दै प्रधानमन्त्रीको मौनताप्रति पनि प्रश्न उठाए।
उनले भने, ‘यो विद्यार्थीहरूको भविष्यसँग जोडिएको गम्भीर विषय हो। उनीहरूलाई कुटपिट भइरहेको छ, जुन बिल्कुलै गलत हो। नरेन्द्र मोदीले यसका लागि अहिलेसम्म माफीसमेत माग्नुभएको छैन। यी युवा ध्वस्त भइसकेको शिक्षा व्यवस्था र परीक्षा प्रणालीविरुद्ध आन्दोलन गरिरहेका छन्।’
उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै थपे, ‘प्रधानमन्त्री किन मौन हुनुहुन्छ? उहाँले विद्यार्थीसँग माफी माग्नुपर्छ र विद्यार्थीमाथि हुने कुटपिट तुरुन्त रोक्नुपर्छ।’
राहुल गान्धीले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको नभई गृहमन्त्रीको जिम्मेवारी रहेको दाबी गर्दै गृहमन्त्रीले नै राजीनामा दिनुपर्ने माग गरे।
उनले भने, ‘यी विद्यार्थीलाई धर्मेन्द्र प्रधानले होइन, गृहमन्त्रीको मातहतमा रहेको संयन्त्रले कुटेको हो। त्यसैले गृहमन्त्रीले राजीनामा दिनुपर्छ। गृहमन्त्री प्रधानमन्त्रीप्रति उत्तरदायी हुन्छन्, त्यसैले उहाँले पद छाड्नुपर्छ।’
यसपछि राहुल गान्धी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको अवस्था बुझ्न राम मनोहर लोहिया (आरएमएल) अस्पताल पुगेका थिए, जहाँ उनले उपचाररत घाइतेहरूसँग भेटघाट गरेका थिए।






































