काठमाडौँ । एमाले नेता एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालय पौडेलसहितका प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गर्न लागेको हो ।
यसअघि दीपक भट्टसहितलाई सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरिसकेकाले अभियुक्तविरुद्ध पूरक अभियोगपत्र लैजाने लागिएको विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता भिमसेन काफ्लेले जानकारी दिए ।
‘सम्पत्ति शुद्धीकरणबाट आयोग अनुसन्धान प्रतिवेदन रुजु गरिरहेका छौँ,’ उपन्यायाधिवक्ता काफ्लेले भने, ‘पाँच बजे सम्म विशेष अदालतमा अभियोगपत्र पेस गर्नेछौँ ।’ एमाले नेता पौडेललाई स्रोत नखुलेको सम्पत्ति लुकाउन भूमिका खेलको आधारमा मतियारमा सजाय माग गर्दै अभियोगपत्र दर्ताको तयारी गरेको छ ।
पूरक अभियोगमा करिब ३३ करोड रुपैयाँ बराबर रकम, विभिन्न कित्ताका १५० रोपनी भन्दा बढी जग्गा र तीन लाख ७५ हजार कित्ता सेयर कारोबारमा सम्पत्ति शुद्धीकरणको अभियोग लगाउँदै विशेष अदालतमा अभियोगपत्र दर्ता गर्ने तयारी भइरहेको छ ।






































