काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभित्र व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको संयुक्त उपस्थितिमा बुधबार बसेको बैठकले नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल र आइस्पानलाई समयसीमासहित एकीकृत कार्ययोजना बनाएर पहिलो चरणमा उपत्यकाका ६ वटा रुटमा तार व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा अव्यवस्थित र प्रयोगविहीन तार हटाइनेछ।
बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई नियामकीय नेतृत्व गर्ने, विद्युत् प्राधिकरणले आवश्यक सहजीकरण गर्ने तथा सबै सेवा प्रदायकले आफ्ना तारमा अनिवार्य रूपमा पहिचान खुल्ने ट्याग राख्ने निर्णय पनि गरेको छ।
सञ्चारमन्त्री तिमिल्सिनाले अव्यवस्थित तार सबै निकायको साझा कमजोरीको परिणाम भएको भन्दै तत्काल नतिजा देखिने गरी काम गर्न निर्देशन दिए। ऊर्जामन्त्री श्रेष्ठले दीर्घकालीन समाधानका लागि सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
बैठकमा सेवा प्रदायकहरूले वर्षायाम, पोलमा रहेका तारको स्वामित्व पहिचान गर्न कठिनाइ तथा दिउँसो सडक क्षेत्रमा काम गर्न नपाउँदा व्यवस्थापनमा ढिलाइ भएको बताएका छन्। नेपाल टेलिकम र एनसेलले भने तार व्यवस्थापन र ट्यागिङको कामलाई तीव्र बनाउने प्रतिबद्धता जनाएका छन्।





































