वि.सं.२०८३ असार ३१ बुधवार

वार्तामा नआए अर्को हप्तादेखि इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

khanepani

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने धम्की दिएका छन् ।

दुई देशबीच लगातार चौथो दिन पनि दुईतर्फी हमला भइरहेका बेला ‘फक्स न्युज’सँगको अन्तर्वार्तामा ट्रम्पको यस्तो भनाइ आएको हो ।

यस अघि ट्रम्पले ‘स्ट्रेट अप हर्मुज’बाट हुने सबै कार्गो ढुवानीमा २० प्रतिशत शुल्क लगाउने आफ्नो धम्की फिर्ता लिएका थिए, तर इरानी बन्दरगाहहरूमा पुनः नाकाबन्दी भने सुरु गरेका छन् ।

‘अर्को हप्ता उनीहरूका लागि स्थिति निकै खराब हुनेछ,’ ट्रम्पले भने, ‘यदि उनीहरू वार्ताको टेबुलमा आएनन् भने हामी उनीहरूका सबै विद्युत केन्द्र र पुलहरू ध्वस्त पारिदिनेछौँ ।’

उनले यस अघि पनि यस्तै धम्की दिएका थिए, जसको संयुक्त राष्ट्र संघका अधिकारीहरूले निन्दा गरेका थिए ।

गत अप्रिलमा ट्रम्पले पुल र विद्युत केन्द्रजस्ता नागरिक पूर्वाधारमा बमबारी गर्ने धम्की दिएपछि संयुक्त राष्ट्र संघका मानव अधिकार प्रमुख भोल्कर टर्कले भनेका थिए, ‘अन्तर्राष्ट्रिय कानुन अनुसार, जानाजानी सर्वसाधारण र नागरिक पूर्वाधारमा आक्रमण गर्नु युद्ध अपराध हो ।’ युद्धसम्बन्धी १९४९ को जेनेभा महासन्धिले पनि नागरिकका लागि आवश्यक मानिने स्थलहरूमा आक्रमण गर्न निषेध गरेको छ।

मंगलबार राति प्रसारित ‘स्पेशल रिपोर्ट विथ ब्रेट बायर’ मा ट्रम्पले भने, ‘म ऊर्जा केन्द्रहरूलाई अन्त्यका लागि साँचेर राख्नेछु, तर अन्ततः हामी ऊर्जा केन्द्रहरूमा प्रहार गर्नेछौँ ।’

उनले अमेरिकी वार्ताकारहरूले मंगलबार साँझ इरानी पक्षलाई ‘कि त सम्झौता गर, नत्र तिमीहरूसँग केही बाँकी रहने छैन’ भनेर सन्देश पठाएको पनि बताए ।

ट्रम्पले हर्मुज स्ट्रेटमा लगाउने भनिएको २० प्रतिशत शुल्कको सट्टा खाडी मुलुकहरूसँग विशाल व्यापार र लगानी सम्झौता गरिने बताएपछि तनाव झन् बढेको हो । अमेरिकाले इरानी बन्दरगाहहरूमा पुनः नाकाबन्दी गरेको केही घण्टा अघि मात्र यो घोषणा गरिएको थियो । अमेरिका र इरानबीच पुनः सुरु भएको आक्रमणका कारण तेलको मूल्यमा भारी वृद्धि भएको छ भने हर्मुज जलडमरूमध्य भएर चल्ने ट्याङ्करहरूको आवागमन लग भग ठप्प भएको छ ।

ranechhap