वि.सं.२०८३ असार २९ सोमवार

भ्रष्टाचार मुद्दामा सफाइसँगै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्वहाली

khanepani

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा संगीता पहाडी अर्याल पुनर्वहाली भएकी छन् । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि पहाडी पुनः आफ्नो जिम्मेवारीमा फर्किएकी हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गत असार २६ गतेको मन्त्रीस्तरीय निर्णयानुसार पहाडीको निलम्बन फुकुवा गरी उनलाई टेलिकममा पुनर्वहाली गरिएको हो । यस अघि लागेको आरोपका कारण उनी निलम्बनमा परेकी थिइन् ।

पदबहालीका क्रममा आयोजित विशेष कार्यक्रममा कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक पहाडीले संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न कसैसँग डराउनु नपर्ने बताइन् ।

आगामी कार्यदिशाका बारेमा बोल्दै उनले कम्पनीमा प्रक्रियागत सुधारको आवश्यकता औंल्याइन्। उनले अबका दिनमा आन्तरिक पक्षका साथै बाह्य दृष्टिकोणलाई समेत ध्यानमा राखेर कार्य गरिने प्रतिबद्धता व्यक्त गरिन् । नेपाल सरकारको भावना र मार्गनिर्देशन अनुरूप अविचलित भई टेलिकमप्रति जनताको आस्था र बजारको साखलाई थप सुदृढ बनाउने उनको योजना छ।

पहाडीले टेलिकमको सेवालाई अझ बढी ग्राहक मैत्री बनाउने संकल्प गर्दै कम्पनी आफ्ना ग्राहक, सरोकारवाला र आम नागरिकप्रति गुणस्तरीय सेवा प्रवाह गर्न सदैव प्रतिबद्ध रहने बताइन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली खरिद र मर्मत प्रक्रियामा अनियमितता भएको दाबीसहित २०८२ जेठ २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यस मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो । तर असार २५ को फैसलामा विशेष अदालतले बिलिङ प्रणाली खरिद प्रक्रियामा कुनै बदनियत नदेखिएको ठहर गरेको थियो ।

ranechhap