काठमाडौँ । वैदेशिक रोजगार विभागले अनुमति विना भारतका विमानस्थल प्रयोग गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै मेनपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले १५९ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई कारबाही गरेको हो ।
त्यस्तै, विभागले माग गरेको विवरण नबुझाउने थप ४३४ म्यानपावर कम्पनीलाई भने सचेत गराएको जनाएको छ । विभागका अनुसार भारतबाट अनुमतिबिना उडान गराउने तथा विभागले मागेको विवरण नपठाउने मास हृयुमन रिसोर्स, नुन रिसोर्स, एपेक्स एचआर कन्सल्टेन्सी, टेस्ला ओभरसिज, सुनागुवा इन्टरनेसनल, एलाइड इन्टरनेश्नल म्यानपावर र अञ्जली ओभरसिज सर्भिस, ग्रान्ड सुइट जबलाई जरिवाना गरिएको विभागले जनाएको छ।
विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै २०८२ चैत १ गतेदेखि ०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका कामदारको उडान विवरण मागिएको थियो ।
सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ वटाले मात्र विवरण उपलब्ध गराएका थिए । विवरण अध्ययनका क्रममा १५९ वटा कम्पनीले भारतीय विमानस्थलबाट पठाउन विभागको स्वीकृति नलिई विदेशी विमानस्थल प्रयोग गरी कामदार पठाएको भेटिएको विभागले जानकारी दिएको छ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ मा वैदेशिक रोजगारीमा जाने कामदारले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था उल्लङ्घन गरेको भन्दै विभागले १५९ कम्पनीलाई ऐनको दफा ५४ अनुसार पहिलो पटक सचेत गराएको जनाएको छ ।
विभागले माग गरेको विवरण नबुझाउने ४३४ वटा म्यानपावर कम्पनीलाई पनि ऐनको दफा ३७ उल्लङ्घन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराएको छ । ती कम्पनीलाई पुनः विवरण पेस गर्न निर्देशनसमेत दिइएको छ।
विभागले पटक–पटक ऐन, नियम तथा निर्देशन उल्लङ्घन गर्ने आठ वटा म्यानपावर कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको जनाएको छ ।
तर, यता नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले विभागलाई उक्त कारबाही प्रक्रिया तत्काल पुनरावलोकन गर्न माग गरेको छ । सङ्घले विभागले कारबाही भन्दा पनि सरोकारवालासँगको समन्वयमा न्यायोचित समाधान खोज्नु पर्ने बताएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै विभागले एकपक्षीय र व्यवसायमैत्री वातावरण विपरीतका निर्णयहरू नसच्याई भने यसले व्यवसायमा गम्भीर असर पार्नुका साथै नेपाली श्रमिकहरू नै प्रत्यक्ष रूपमा प्रभावित हुने चेतावनी सङ्घले दिएको छ ।






































