काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र संयुक्त अरब इमिरेट्स (यूएई)का विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोउदीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
शुक्रबार भएको भेटमा सभामुख अर्यालले वर्तमान संसद गठनपछि यूएईबाट भएको यो सबै भन्दा उच्चस्तरीय भ्रमण रहेको उल्लेख गर्दै यसले नेपाल-यूएई सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुका साथै सहकार्यका नयाँ आयाम खुल्ने विश्वास व्यक्त गरेका थिए । उनले सन् १९७७ मा स्थापित दुई देशबीचको कूटनीतिक सम्बन्ध मित्रता, सहयोग र पारस्परिक विश्वासमा आधारित रहेको उल्लेख गर्दै सन् २०२७ मा मनाइने स्वर्ण जयन्तीलाई उपलब्धिमूलक बनाउन नेपाल इच्छुक रहेको बताए ।
सभामुख अर्यालले प्रतिनिधिसभाले हालै यूएईसँग संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै दुवै देशका संसदबीच अनुभव, विचार र असल अभ्यास आदानप्रदानमा यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै, यूएईको संघीय राष्ट्रिय परिषद्ले पनि यस्तै समूह गठन गरे द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने धारणा राखेका थिए । उनले संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन, जी–७७, एसिया सहयोग संवाद र अबुधाबी संवादलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपाल–यूएई सहकार्य आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे ।
उनले आगामी असोज ७ गतेदेखि फ्लाई दुबईले पोखरा–दुबई सिधा दैनिक उडान सञ्चालन गर्न लागेकामा खुशी व्यक्त गर्दै यूएईका पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्न आग्रह गरेका थिए । साथै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईका हवाई सेवा कम्पनीलाई ‘पाँचौँ स्वतन्त्र उडान अधिकार’सहितका सहुलियत उपलब्ध गराउने सरकारी निर्णयबारे पनि जानकारी गराए ।
जवाफमा यूएईका विदेश व्यापार मन्त्री अल जेयोउदीले नयाँ सरकार गठनपछि नेपालमा आफ्नो पहिलो भ्रमण भएको बताउँदै यसले दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए । उनले नेपालमा लगानीमैत्री वातावरण निर्माणप्रति यूएई सकारात्मक रहेको र प्रविधि, पूर्वाधार तथा शिक्षालगायत क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताए । मन्त्री अल जेयोउदीले यूएईको विकासमा नेपाली श्रमिकले पुर्याएको योगदानको प्रशंसा गर्दै नेपाल–यूएई सम्बन्धलाई अझ उचाइमा पुर्याउन दुवै देशबीचको सहकार्य थप विस्तार गरिने विश्वास व्यक्त गरेका थिए । उनीसँग १८ सदस्यीय प्रतिनिधिमण्डल पनि नेपाल भ्रमणमा रहेको छ ।





































